`

सलमान नमानेपछि ट्रम्पको नौसैनिक योजना यता न उता

Nepal One HD २४ वैशाख २०८३ १४:५९
विश्व

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने व्यावसायिक जहाजलाई सुरक्षा एस्कोर्ट उपलब्ध गराउने महत्वाकांक्षी नौसैनिक योजना अचानक स्थगित गरेका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार साउदी अरेबियाले अमेरिकी सैन्य विमानलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न तथा प्रिन्स सुल्तान एयरबेस सञ्चालनमा ल्याउन अनुमति दिन अस्वीकार गरेपछि उक्त योजना रोकिएको हो। एनबिसी न्युजले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार यो योजना ‘प्रोजेक्ट फ्रिडम’ नाम दिइएको थियो, जसलाई खाडी क्षेत्रका साझेदार मुलुकहरूसँग पर्याप्त समन्वय बिना अघि बढाइएको थियो।

रिपोर्टअनुसार राष्ट्रपति ट्रम्पले साउदी युवराज मोहम्मद बिन सलमानसँग प्रत्यक्ष टेलिफोन संवादमार्फत सहयोगको प्रयास गरेका थिए। तर रियादले आफ्नो भूभाग र हवाई मार्ग प्रयोग गर्न अनुमति नदिएपछि अपरेसन तत्काल स्थगित गर्नुपरेको हो।

एक साउदी स्रोतलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ कि यस्तो प्रकारका सैन्य गतिविधिमा परिस्थितिहरू तीव्र रूपमा बदलिने भएकाले साउदी अरेबिया प्रत्यक्ष सैन्य तनावभन्दा कूटनीतिक समाधानको पक्षमा रहेको छ। साउदी अरेबियाले अमेरिका-इरानबीच सम्भावित समझदारीका लागि पाकिस्तानले नेतृत्व गरिरहेको कूटनीतिक पहललाई पनि सकारात्मक रूपमा हेरेको बताइएको छ।

यसैबीच, ह्वाइट हाउसका एक अधिकारीले भने अमेरिकी प्रशासनले क्षेत्रीय साझेदारहरूलाई योजना बारे पहिले नै जानकारी गराइएको दाबी गरेका छन्। तर पश्चिम एसियाली कूटनीतिज्ञहरूले भने अमेरिका आफैंले योजना सार्वजनिक गरेपछि मात्र ओमानलगायत सम्बन्धित पक्षसँग समन्वय सुरु गरेको बताएका छन्।

उक्त कूटनीतिज्ञका अनुसार ‘पहिले घोषणा गर्ने र त्यसपछि समन्वय खोज्ने शैली’ ले क्षेत्रीय साझेदारहरूलाई असहज बनाएको देखिन्छ।

यस घटनापछि इरानले हर्मुज जलघाँटी क्षेत्रमा सञ्चालित व्यावसायिक जहाजलाई आवश्यक सम्पूर्ण सहायता उपलब्ध गराउने घोषणा गरेको छ। इरानको बन्दरगाह तथा समुद्री सङ्गठनले समुद्री सुरक्षा, प्राविधिक सहयोग, स्वास्थ्य सेवा र इन्धन आपूर्ति उपलब्ध गराउन सम्पूर्ण संरचना सक्रिय पारिएको जनाएको छ।

इरानी पक्षले जहाजहरूको सुरक्षा सुनिश्चित गर्न मर्मतसम्बन्धी सेवा र आपत्कालीन सहयोग समेत उपलब्ध गराइने बताएको छ। साथै, जहाजहरूलाई नजिकका समुद्री केन्द्रमार्फत सम्पर्क गर्न आग्रह गरिएको छ।

खाडी क्षेत्रमा पछिल्ला महिनाहरूमा अमेरिका र इरानबीच तनाव बढ्दै गएको अवस्थामा हर्मुज जलघाँटी फेरि अन्तर्राष्ट्रिय रणनीतिक केन्द्रविन्दु बनेको छ। विश्वको ठूलो मात्रामा तेल आपूर्ति यही मार्गबाट हुने भएकाले यहाँको कुनै पनि सैन्य गतिविधिले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा प्रत्यक्ष असर पार्ने विश्लेषकहरूको भनाइ छ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत ‘प्रोजेक्ट फ्रिडम’ अस्थायी रूपमा रोकिएको घोषणा गर्दै पाकिस्तानको आग्रहपछि निर्णय गरिएको बताएका थिए। उनले अमेरिका र इरानबीच सम्भावित समझदारीतर्फ प्रगति भइरहेको दाबी गर्दै तनाव कम गर्न यो विराम आवश्यक रहेको उल्लेख गरेका छन्।

विश्लेषकहरूका अनुसार साउदी अरेबियाको असहमतिले अमेरिकाको क्षेत्रीय रणनीतिमा चुनौती थपिएको छ भने पाकिस्तान र ओमानजस्ता मुलुकको कूटनीतिक सक्रियता अहिलेको तनाव व्यवस्थापनमा महत्वपूर्ण बन्दै गएको देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *