मेडिकल काउन्सिलको रजिष्ट्रार पदबाट डा. देव हटाइए
काठमाडौं। सरकारले डा. सतिश देवलाई नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार पदबाट हटाएको छ। मन्त्रिपरिषद्को बैठकले काउन्सिलसम्बन्धी नियमावली संशोधन गर्दै उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो।
यसअघि सरकारले अध्यादेशमार्फत नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा सदस्यहरूलाई समेत पदमुक्त गरिसकेको थियो।
नेपाल मेडिकल काउन्सिल ऐन, २०२० मा “रजिष्ट्रारलाई बर्खास्त, सस्पेन्ड वा अन्य सजाय दिनुपरेमा ऐनअन्तर्गत बनेको नियमबमोजिम गर्ने” व्यवस्था रहेको छ। सरकारले सोही प्रावधानका आधारमा नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ संशोधन गरी डा. देवलाई पदमुक्त गरेको जनाएको छ।
स्रोतका अनुसार नियमावली संशोधनपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रजिष्ट्रार पदमा निमित्त तोक्ने तयारी अघि बढाएको छ।
नयाँ व्यवस्थाअनुसार काउन्सिलको प्रशासनिक तथा दर्तासम्बन्धी कामकारबाही निरन्तर सञ्चालन गर्न अस्थायी जिम्मेवारी तोकिने बताइएको छ।
