६ जना पूर्वमन्त्री मुछिए पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा
काठमाडौं । ३ अर्ब ६२ करोड भ्रष्टाचार भएको पोखरा विमानस्थल प्रकरणमा ६ जना पूर्वमन्त्री तानिएका छन् । बिहीबार अख्तियारले पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध पनि आरोपपत्र दायर गरेसँगै छ जना मन्त्री पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा जोडिएका हुन् ।
यसअघि गत वर्ष मंसिरमा अख्तियारले तत्कालीन पाँच जना मन्त्रीसहितलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेको थियो । तत्कालीन मन्त्रीहरू भीम आचार्य, रामकुमार श्रेष्ठ, दीपक अमात्य, रामशरण महत र पोष्टबहादुर बोगटीलाई विपक्षी बनाइएको थियो । बिहीबारको मुद्दामा अर्का मन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि जोडिएका छन् । बोगटीको निधन भइसकेकोले उनकी पत्नी राममाया बोगटीलाई प्रतिवादी छन् ।
पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र डा. रामशरण महतका कांग्रेस नेता हुन् । पूर्वपर्यटनमन्त्री भीम आचार्य र दीपक अमात्य एमाले नेता हुन् । पूर्वमन्त्री रामकुमार श्रेष्ठ पूर्वसचिव हुन्, जो खिलराज रेग्मीको चुनावी सरकारमा मन्त्री बनेका थिए । पोष्टबहादुर बोगटी माओवादी नेता थिए ।
अख्तियारको दाबीमा ठेक्का सम्झौतामा भएको व्यवस्था विपरीत ठेकेदारलाई राजश्व छुट दिएर उनीहरूले भ्रष्टाचार गरेको दाबीसहित आरोप पत्र पेस भएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए ।
३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो माग दाबी गरेर अख्तियारले मुद्दा दायर गरेको लामिछानेले बताए ।
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा कर्मचारीहरू भने खरिदारदेखि सचिवसम्म र ठेकेदार कम्पनीसम्म जोडिएका छन् ।
