`

प्रादेशिक अस्पतालको सुविधाले घटायो सुत्केरीको हवाई उद्धार

Nepal One HD २५ वैशाख २०८३ ९:३५
जीवनशैली/स्वास्थ्य

गण्डकी। प्रादेशिक अस्पतालमा स्तरीय सेवा उपलब्ध भएपछि लाखौँको लागतमा हुने हवाई उद्धार क्रमशः घट्दै गएको छ ।

पछिल्ला वर्षमा प्रदेशभित्रका अस्पतालको स्तरोन्नतिसँगै आधारभूत अस्पतालमा बढाइएको विशेषज्ञसहितको सेवाका कारण उक्त सङ्ख्या घट्दै गएको अनुमान गरिएको स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका स्वास्थ्य तथ्याङ्क अधिकृत बुद्धिसागर अधिकारीले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले २०७६ सालदेखि जोखिमममा परेका गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार सुरु गरेकामा यो सुविधा त्यस वर्ष १० जनाले लिएका थिए ।

त्यसैगरी, २०७७ मा ३३, २०७८ मा आठ, २०७९ मा पाँच, २०८० मा चार, २०८१ मा एक र २०८२ यता हालसम्म छ जनाले सुविधा लिएको उहाँले जानकारी दिनुभयो ।

जिल्लागत रुपमा २०७६ यता निःशुल्क हवाई उद्धार सेवा लिनेमा सबैभन्दा बढी बागलुङबाट ३० जनाले यो सेवा लिएका छन् भने म्याग्दीबाट १८, गोरखाबाट छ, मुस्ताङबाट पाँच, लमजुङबाट चार एवम् मनाङ र पर्वतबाट दुई/दुई जना गरी कुल ६७ जनाले सेवा लिएको उहाँले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकारले २०७६ सालमा यो सेवा सुरु गर्नुअघि मन्त्रिपरिषद्को निर्णयअनुसार थप चार जनाले यो सुविधा लिएका अधिकारीले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले जोखिमममा परेका गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धारलाई व्यवस्थित एवं प्रभावकारी बनाउन २०८० मा कार्यविधि ल्याएको हो ।

प्रदेश सरकारले गण्डकी प्रदेशका १६ वटा अस्पतालको स्तरोन्नति गर्नुका साथै आधारभूत अस्पतालमा विशेषज्ञसहितको सेवा उपलब्ध गराएपछि स्वास्थ्य सेवाका क्षेत्रमा सकारात्मक उपलब्धि हासिल भएको तथ्याङ्क अधिकृत अधिकारीले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *