`

प्रधान्यायाधीश सिफारिसमा हर्क साम्पाङ बने ‘दहीचिउरे

Nepal One HD २५ वैशाख २०८३ ११:०८
बिशेष

काठमाडौं । ‘दहिचिउरे प्रवृत्ति’ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देखाएका छन्– प्रधानन्यायाधीश सिफारिस सन्दर्भमा । जसले गर्दा उनी आलोचित भएका छन् ।

साम्पाङले शुक्रबार विज्ञप्ति जारी गर्दै वरिष्ठतम् न्यायाधीशको चौथो वरियतामा रहेका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेर प्रधानमन्त्री वालेन्द्र शाहले ठूलो गल्ती गरेको बताएका छन् ।

जबकि, उनकै दल श्रम संस्कृति पार्टीबाट उपसभामुख रहेकी संवैधानिक परिषद् सदस्य रुबीकुमारी ठाकुर शर्मालाई प्रधानन्यायाधीशमा प्रधानमन्त्री बालेनले सिफारिस गर्दा मौन बसेर समर्थन गरेकी छिन् ।

प्रधानन्यायाधीश सिफारिस गर्न बिहीबार बसेको परिषद् बैठकमा प्रधानमन्त्री वालेन्द्रले तपाईंको केही भन्नु छ भन्दा ? केही छैन भनेकी थिइन् ।

प्रधानन्यायाधीश नियुक्तिमा स्थापित परम्परा, विधि र संविधानको मर्मलाई कुल्चिँदै प्रधानमन्त्री वालेन्द्रले वरियताको चौथो स्थानमा रहेका शर्माको नाम प्रधानन्यायाधीशमा प्रस्ताव गर्दा प्रमुख विपक्षी नेता भीष्मराज आङ्देम्बले कडा आपत्ति जनाएका थिए ।

भनिन्छ, आङ्देम्बे र बालेनबीच बैठकमा झण्डै डेढ घण्टा चर्काचर्की परेको थियो । नेपाली कम्युनिष्ट पार्टीबाट राष्ट्रियसभा अध्यक्ष भएका नारायण दाहालले पनि आङ्देम्बेको कित्तामा उभिएर प्रधानन्यायाधीश नियुक्तिमा प्रधानमन्त्री बालेनको मिचाइको विरोध गरेका थिए ।

तर, हर्क साम्पाङकै दल श्रम संस्कृति पार्टीबाट उपसभामुख भएकी रुबीकुमारी एक शब्द बोलिनन् । उनले विरोध गरिनन् । तर, अध्यक्ष हर्क साम्पाङले विज्ञप्ति नै निकालेर विरोध गरेका छन् ।

आफ्नो उपसभामुखलाई समर्थन गर्न लाउने र आफू विरोध गरेर साम्पाङले दहीचिउरे प्रवृत्ति देखाएको भन्दै आलोचना भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *