`

औषधी लिमिटेडले ३७ प्रकारका औषधी उत्पादन तीव्र बनाउँदै

Nepal One HD २५ वैशाख २०८३ १२:१३
जीवनशैली/स्वास्थ्य

काठमाडौं। नेपाल औषधी लिमिटेडले छिटै तीन प्रकारका अत्यावश्यक औषधी उत्पादन गर्ने तयारी अघि बढाएको छ । उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोलमा प्रयोग हुने औषधी उत्पादन अन्तिम चरणमा पुगेको लिमिटेडले जनाएको छ ।

लिमिटेडका अनुसार कोलेस्ट्रोल नियन्त्रणमा प्रयोग हुने एटोरभास्टिन औषधी औषधी व्यवस्था विभागबाट अनुमति लिने प्रक्रियामा छ । त्यस्तै मधुमेहको उपचारमा प्रयोग हुने मेटफरमिन पाँच सय मिलिग्राम र आठ सय मिलिग्राम तथा उच्च रक्तचापका लागि प्रयोग हुने एम्लोडिपिन २.५ मिलिग्राम र ५ मिलिग्राम औषधीहरू अनुसन्धान तथा विकास प्रक्रियामा रहेका छन् ।

सूचना अधिकारी दिनेशप्रसाद भट्टराईका अनुसार आगामी आर्थिक वर्षभित्र यी तीन औषधी बजारमा उपलब्ध गराउने लक्ष्यसहित काम अघि बढाइएको छ । उनका अनुसार आवश्यक अनुमति प्रक्रिया र प्राविधिक तयारी पूरा भएपछि उत्पादन औपचारिक रूपमा सुरु हुनेछ ।

लिमिटेडले हालसम्म ३७ प्रकारका औषधी उत्पादन गर्ने तयारी गरिरहेको जनाएको छ । तीमध्ये एस्प्रिन, अल्बेन्डाजोल, अल्मुनियम हाइड्रोक्साइड जेल, अमिट्रिप्टिलिन, एजिथ्रोमाइसिन, सेट्रिजिन, डिक्लोफेनाक, फुरोसेमाइड, लोसार्टन, मेट्रोमिन, मिथाइलडोपा, निफेडिपिन, नाइट्रोफुरान्टोइन, रानिटिडिन, रिसपेरिडोन, सोडियम भाल्प्रोएट, भिटामिन बी कम्प्लेक्स र जिंक सल्फेटलगायत औषधी समावेश छन् ।

महानिर्देशक पनेरूका अनुसार सरकारले लिमिटेडलाई आवश्यक औषधी उत्पादनमा प्राथमिकता दिन निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालय र उद्योग मन्त्रालयसँगको छलफलपछि सरकारले सरकारी स्वास्थ्य संस्थामार्फत वितरण हुने अत्यावश्यक औषधी उत्पादनमा जोड दिएको हो ।

सरकारले हाल निःशुल्क वितरण हुँदै आएका ९८ प्रकारका अत्यावश्यक औषधीमध्ये केही उत्पादन लिमिटेडबाटै गर्नुपर्ने प्रस्ताव अघि बढाएको छ । त्यसका लागि आवश्यक बजेट र जनशक्ति व्यवस्थापनका लागि प्रक्रिया अर्थ मन्त्रालयमा पुगेको जनाइएको छ ।

लिमिटेडकी गुणस्तर आश्वासन इन्चार्ज हीना श्रेष्ठका अनुसार देशमै औषधी उत्पादन बढेपछि आयात घट्ने, मूल्य सुलभ हुने र गुणस्तर नियन्त्रणमा सहज हुने अपेक्षा गरिएको छ । उनका अनुसार सरकारी उत्पादनले बजारमा प्रतिस्पर्धा बढाउँदै उपभोक्तालाई पनि फाइदा पुग्नेछ ।

सन् १९७२ मा स्थापना भएको नेपाल औषधी लिमिटेड २०६४ पछि बन्द भएको थियो भने २०७४ सालमा पुनः सञ्चालनमा आएको हो । हाल लिमिटेडले सिटामोल, जीवनजल, फोलिक एसिड, गिलसिरिनलगायत आधारभूत औषधी उत्पादन गर्दै आएको छ । पूर्वाधार र जनशक्ति विस्तार भए उत्पादन क्षमता अझ बढाउन सकिने लिमिटेडले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *