प्रलोपाबाट बाहिरिए बाबुराम
काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट बाहिरिएका छन् ।
बिहीबार बसेको पार्टीको अध्यक्ष परिषद् बैठकले भट्टराईले आफू कुनै पनि साङ्गठनिक जिम्मेवारीमा नरही स्वतन्त्र रूपमा समग्र वैकल्पिक र रूपान्तरणकारी राजनीतिलाई सघाउने इच्छा व्यक्त गरेको जानकारी गराएको थियो । सोही अनुरूप उनको व्यक्तिगत निर्णयलाई स्वीकार गर्दै पार्टीले शुभकामना दिएको छ ।
बैठकको निर्णयमा भनिएको छ, ‘यसअघि प्रगतिशील लोकतान्त्रिक पार्टीको संरक्षकका रूपमा रहेका डा. बाबुराम भट्टराईले कुनै पनि साङ्गठनिक जिम्मेवारीमा नरही आफू स्वतन्त्र रहेर समग्र वैकल्पिक र रूपान्तरणकारी राजनीतिलाई सघाउन चाहेको कुरा पार्टीलाई जानकारी गराउनु भएकोले उहाँको उक्त वैयक्तिक छनौटलाई उच्च सम्मान गर्दै शुभकामना दिने निर्णय गरियो ।’
त्यस्तै बैठकले पार्टीका अध्यक्ष परिषद् सदस्य सुदन किराँतीले पनि पार्टी सदस्यता नरहने गरी सार्वजनिक वक्तव्य दिएको उल्लेख गर्दै उनलाई समेत आगामी व्यक्तिगत तथा राजनीतिक यात्राका लागि शुभकामना दिएको छ ।
बैठकले समसामयिक राजनीतिक अवस्थाको समीक्षा गर्दै हालको राज्य व्यवस्था मजदुर, श्रमजीवी तथा उत्पीडित वर्ग र समुदायको पक्षमा नरहेको निष्कर्ष समेत निकालेको छ ।
