प्रधानन्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट दायर
काठमाडौं। संवैधानिक परिषद्ले बिहीबार गरेको नयाँ प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गर्दै चौथो वरीयतामा रहेका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका लागि गरिएको सिफारिस संविधानको आधारभूत परिकल्पनाविपरीत रहेको दाबी गरेका छन् ।
रिटमा उक्त सिफारिसले न्यायिक स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप गर्ने र न्यायपालिकालाई कार्यपालिका मातहत ल्याउने प्रयास भएको उल्लेख गरिएको छ ।
त्रिपाठीले संवैधानिक परिषद्को निर्णय बदर गरी पहिलो वरीयतामा रहेकी सपना प्रधान मल्ललाई प्रधानन्यायाधीशमा सिफारिस गर्न परमादेश जारी गर्न माग गरेका छन् । उनले रिट हाल दर्ता प्रक्रियामा रहेको जानकारी दिएका छन् ।
बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले पहिलो वरीयताकी सपना प्रधान मल्ललाई पन्छाउँदै चौथो वरीयतामा रहेका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
