पूर्वमाओवादी नेता बाबुराम भट्टराई : १० वर्षमा ५ दल, शून्य राजनीतिक प्रतिफल
काठमाडौं । बाबुराम भट्टराई । पछिल्लो १० वर्षमा ५ दलको नेता । अहिले भए यता न त्यता । नयाँ शक्ति, समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी हुँदै पछिल्लो समय उनी प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक थिए ।
वैकल्पिक राजनीति गर्ने भन्थे उनी, तर उनको बेहाल भयो । बिहीबार त प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पनि हात झिके ।
नेपालको सबैभन्दा बढी लोकप्रियताको राजनीति गरेका र कुनैबेला बाबुराम कामी लेखेर दलित समुदायको आत्मसम्मान बढाउने प्रयास गरेका उनले मधेसको मुद्दा पनि उठाए । तर, बाबुराम पत्याइएन । जुन दलमा गए, दलै भताभुंग भयो ।
अब भने उनले स्वतन्त्र र रुपान्तरणकारी राजनीतिलाई सघाउने भनेका छन् । यो भनेको सक्रिय राजनीतिबाट उनको बिदाबारी नै हो ।
तर, सुनिन्छ उनी राष्ट्रपति हुन शक्तिकेन्द्र धाइरहेका छन् । उनको कुदामारी राष्ट्रपति हुनमा छ ।
स्रोतको दाबीमा उनको सुझावअनुसार केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेललाई संकट निम्तिनेगरी प्रधानमन्त्री बालेन्द्र शाहले अध्यादेशको बाढी नै ल्याएका थिए । तर, राष्ट्रपतिले अन्ततः सबै जारी गरे । महाभियोग लगाएर हटाउने बालेन योजना तत्कालका लागि अधुरै रह्यो । डा. बाबुराम भट्टराई हेरेको हेरेकै भए ।
बाबुराम र रामचन्द्रबीच जोडिएको एउटा कथा छ, प्रधानमन्त्रीको १७ पटकसम्मको प्रतिस्पर्धा । अन्तिममा बाबुराम प्रधानमन्त्री बनेका थिए । रामचन्द्र प्रधानमन्त्री बन्न सकेनन्, राष्ट्रपति भने बने ।
अहिले बाबुराम रामचन्द्रलाई हट्नेगरिको वातावरण बनाएर राष्ट्रपति हुन चाहिरहेको विवरण आइरहेका छन् । तर, विगतले भन्छ– डा. बाबुराम १० वर्षमा ५ दलको नेता बनेर जनमत प्राप्त गर्न असफल नेता हुन् ।
जबकि, उनी १० वर्षे माओवादी युद्धका युद्ध रणनीतिकारमध्येका एक हुन् । माओवादीबाटै अर्थमन्त्री हुँदै प्रधानमन्त्री भएका उनले २०७२ सालमा संविधान बनेपछि माओवादी त्यागेका थिए ।
त्यसपछिका १० वर्षमा ५ दलमा आबद्ध भए, अब भने राजनीतिक मैदानको किनारामा उभिने दर्शकजस्तो हुने भएका छन् ।
