`

रुबीको साथ बालेनले पाउँदा हर्क असन्तुष्ट, ज्ञानेन्द्र शाहीको हर्कलाई तिखो व्यंग्य- खाउँ भने कान्छा बाउको अनुहार !

Nepal One HD २५ वैशाख २०८३ १८:३१
अर्थ समाचार

काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले उपसभामुख रुबिकुमारी ठाकुरले प्रधानन्यायाधीश सिफारिसमा प्रधानमन्त्री बालेनलाई समर्थन गरेको विषयमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई तीखो व्यङ्ग्य गरेका छन् ।

आफ्नै दलबाट उपसभामुख बनेकी ठाकुरले वरिष्ठता मिचेर प्रधानमन्त्री बालेनले प्रस्ताव गरेको प्रधानन्यायाधीशको नाममा समर्थन जनाएपछि साम्पाङले खेद र असन्तुष्टि पोखेको बेला शाहीले भनेका छन्, ‘नखाउँ भने दिनभरिको शिकार, खाउ भने कान्छा बाउको अनुहार” भएछ उपसभामुख पद माननीय हर्क साम्पाङज्यूलाई ।’

बिहीबारको संवैधानिक परिषद् बैठकमा प्रधानमन्त्री बालेनले वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ललाई प्रधानन्यायाधीश प्रस्ताव नगरी चौथो वरियताका न्यायाधीश मनोजकुमार श्रेष्ठलाई प्रस्ताव गर्दा हर्कको दलबाट उपसभामुख भएकी रुबीले चुपचाप रहेर समर्थन गरेकी थिइन् ।

वरियता मिच्ने कार्य परम्परा, विधि र संविधानको मर्मविपरीतको भनेर प्रमुख विपक्षी नेता भीष्मराज आङ्देम्बे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाललगायतले विरोध गर्दा उपसभामुख रुबीले समर्थन जनाएकी थिइन् । यसपछि अध्यक्ष साम्पाङले उपसभामुख रुबीको भूमिकालाई लिएर असन्तुष्टि जनाउँदा राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले साम्पाङ्लाई व्यङ्ग्य गरेका हुन् ।

यसअघि रास्वपा सभापति रवि लामिछानेले शाहीको दल राप्रपालाई उपसभामुख दिने बचन दिएका थिए । तर, उम्मेदवारी दर्ताको दिन भने प्रधानमन्त्री बालेन रास्वपामा हाबी हुँदा नयाँ दल भन्दै हर्कको दललाई उपसभामुख दिएका थिए ।

अन्ततः हर्कले रुबीलाई उपसभामुखको उम्मेदवार बनाए, रास्वपाको मतदानले उपसभामुख भए । अहिले बालेनलाई उनले गुन तिरे, हर्कलाई आक्रोशित बनाए । यस्तोमा राप्रपा संसदीय दलका नेता शाहीको व्यङ्ग्य प्रहार भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *