`

बङ्गलादेशको अन्तर्राष्ट्रिय एक्स्पोमा नेपालको स्वास्थ्य सेवा प्रदर्शनी

Nepal One HD २६ वैशाख २०८३ ११:४१
जीवनशैली/स्वास्थ्य

काठमाडौं । नेपाल मेडिसिटी अस्पताल ले बङ्गलादेशमा आयोजित ‘इन्टरनेसनल हेल्थ टुरिज्म एण्ड सर्भिसेस एक्स्पो २०२६’ मा नेपालको स्वास्थ्य सेवाबारे प्रदर्शनी गरेको छ । यो नेपालबाहिर आयोजना गरिएको अन्तर्राष्ट्रिय मेडिकल टुरिज्म एक्स्पोमा नेपालको पहिलो सहभागिता समेत रहेको बताइएको छ ।

बङ्गलादेशको ढाकास्थित इन्टरनेसनल कन्भेन्सन सिटी मा बिहीबारदेखि सुरु भएको एक्स्पो आज शनिबारसम्म सञ्चालन हुनेछ । एक्स्पोमा एसिया तथा अन्य क्षेत्रका प्रमुख अस्पताल, स्वास्थ्य सेवा प्रदायक, वेलनेस सेन्टर, डायग्नोस्टिक संस्था तथा मेडिकल टुरिज्मसँग सम्बन्धित संस्थाहरू सहभागी भएका छन् ।

तीन दिने कार्यक्रममा चीन, इन्डोनेसिया, मलेसिया, भारत र श्रीलङ्कालगायत देशका स्वास्थ्य संस्थाहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । यसले क्षेत्रीय स्तरमा चिकित्सा पर्यटन र अन्तर्राष्ट्रिय स्वास्थ्य सहकार्यको बढ्दो महत्त्व झल्काएको बताइएको छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमर ले एक्स्पोमा सहभागिता नेपाललाई दक्षिण एसियामा गुणस्तरीय र किफायती स्वास्थ्य सेवाको उदीयमान गन्तव्यका रूपमा स्थापित गर्ने महत्वपूर्ण अवसर भएको बताए । उनका अनुसार यसले तीव्र रूपमा विस्तार भइरहेको मेडिकल टुरिज्म क्षेत्रमा नेपालको उपस्थितिलाई अझ मजबुत बनाउनेछ ।

अस्पतालले बहुविषय विशेषज्ञता, बिरामी केन्द्रित सेवा, संक्रमण नियन्त्रण, क्लिनिकल गभर्नेन्स तथा प्रमाणमा आधारित उपचार पद्धतिमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रदान गर्दै आएको जनाएको छ । साथै अनुभवी विशेषज्ञ, छोटो प्रतीक्षा समय र तुलनात्मक रूपमा किफायती उपचार प्याकेजका कारण विदेशी बिरामी आकर्षित हुने विश्वास अस्पतालको छ ।

नेपाल मेडिसिटीको सहभागिताले नेपालको स्वास्थ्य क्षेत्रमा नयाँ अन्तर्राष्ट्रिय अवसर सिर्जना गर्ने र देशलाई चिकित्सा उपचार तथा वेलनेस पर्यटनको विश्वसनीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *