ट्रम्पद्वारा रुस-युक्रेन युद्धमा तीन दिने युद्धविराम घोषणा
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्धमा तीन दिने युद्धविराम घोषण भएको जानकारी दिएका छन्। ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै मे ९, १० र ११ का लागि युद्धविराम लागू हुने बताएका हुन्।
ट्रम्पको घोषणापछि युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पनि एक्समार्फत अमेरिकी पहलमा चार वर्षदेखि जारी युद्धलाई अन्त्यतर्फ डोर्याउने प्रयासस्वरूप तीन दिने युद्धविराममा सहमति भएको पुष्टि गरे।
यस विषयमा रुसी पक्षले पनि प्रतिक्रिया दिएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभका अनुसार अमेरिकी प्रशासनसँग टेलिफोनमार्फत समन्वय गरी युद्धविरामको सहमति गरिएको हो। उनले अमेरिकाले कीभसँग पनि प्रत्यक्ष सम्पर्क गरेको बताए। हालै पुटिन र ट्रम्पबीच भएको टेलिफोन संवादमै विजय दिवसको अवसर पारेर युद्धविरामको सम्भावनाबारे छलफल भएको उशाकोभले बताए।
यसअघि रुसले मे ९ का लागि दोस्रो विश्वयुद्ध विजय दिवसको अवसरमा दुई दिने एक पक्षीय युद्धविराम घोषणा गरेको थियो। युक्रेनले पनि युद्धविराम प्रस्ताव गरेको तर मस्कोले प्रारम्भमा बेवास्ता गरेको दाबी गरेको थियो। ट्रम्पले आफूले प्रत्यक्ष रूपमा युद्धविराम प्रस्ताव गरेको उल्लेख गर्दै दुबै देशका नेतालाई सहमतिका लागि धन्यवाद दिएका छन्।
राष्ट्रपति ट्रम्पका अनुसार युद्धविराम अवधिमा सबै प्रकारका सैनिक गतिविधि रोकिनेछन्। साथै दुवै मुलुकले १,०००-१,००० युद्धबन्दी साटासाट गर्नेछन्, जसको पुष्टि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि गरेका छन्।
‘युद्ध अन्त्यका लागि वार्ता निरन्तर जारी छ, हामी समाधानतर्फ नजिकिँदै गइरहेका छौँ,’ ट्रम्पले भने। ‘आशा छ, यो लामो, घातक र कठिन युद्धलाई अन्त्यतर्फ डोर्याउने सुरुआत हुनेछ।’
