`

शान्ति लिम्बू सेलिङकाे कविता कृति `थेम्सकाे लहरमा तमाेरकाे स्पर्श´ सार्वजनिक

Nepal One HD २६ वैशाख २०८३ १४:२३
मनोरञ्जन

काठमाडौं । बेलायत निवासी कवि शान्ति लिम्बू सेलिङकाे कविता कृति `थेम्सकाे लहरमा तमाेरकाे स्पर्श´ विमाेचन शनिबार गरिएको छ । नेपाली साहित्य र सामाजिक क्षेत्रमा एक सुपरिचित कवि लिम्बूको याे पाँचौ कृति हाे ।

कविता संग्रहमा सङ्ग्रहित कविताहरूले प्रवासको जीवन (लन्डन) र आफ्नो मातृभूमिको सुगन्ध (पूर्वी नेपालकाे पाँचथर) बीचको भावनात्मक सम्बन्धलाई उजागर गर्दछन् । थेम्सको आधुनिकता र तमोरको प्राचीनता यस कृतिको मूल भाव हो। कविताहरू सांस्कृतिक पहिचान र परम्परा, प्रवासका अनुभूति र नोस्टाल्जिया, समाज र जीवनका विविध पाटारू, प्रकृति र मानवीय संवेदनामा आधारित छन् 

 उनका रचनाहरूमा लिम्बु संस्कृति र नेपाली पहिचानको गहिरो छाप पाइन्छ ।

उनी भन्छिन्- `साहित्य मेरो लागि भावनाको अभिव्यक्ति मात्र होइन, समाजसँग जोडिने सेतु पनि हो।´

उनै कवि लिम्बूको कविता कृति लेखक खगेन्द्र सङ्ग्राैलाले विमाेचन गरेका हुन् । संग्रौलाले लिम्बूकाे कृतिमा देश छोड्नु पर्ने विवशता, प्रवासी जीवनका विषय, मानव जीवनको जरा, नारी चेतनाका विषय समेटिएको बताए ।

कवितामा प्रयुक्त विम्ब`तमोर´ देशकाे पूर्वी क्षेत्रकाे नदी हाे । लिम्बू संस्कृतिको उद्गम स्थल हो । कवयित्रीले आफ्ना कविताहरूमा तमोरका ढुङ्गा र माटोसँगको सामीप्यतालाई `स्पर्श´ को रूपमा प्रस्तुत गरेकी छन् ।

कविताकाे यो खण्डले मातृभूमिप्रतिको अगाध प्रेम र पुर्खाले छोडेका पदचापहरूलाई स्मरण गराउँछ ।

कविताकाे अर्को खण्ड `थेम्सको लहर´ कवयित्री लिम्बूको आधुनिक यात्रा हाे । प्रवासी जीवनकाे अभिव्यक्ति हाे । लन्डनको मुटु भएर बग्ने `थेम्स´ नदी आधुनिक जीवनको प्रतीक हो । प्रवासमा रहेर पनि नेपाली मुटु बोक्ने स्रष्टाले `थेम्सका लहरहरू´मा आफ्नै देशको विम्बहरू कवितामार्फत् प्रकट गरेकी छन्  

अर्को शब्दमा यो कविता संग्रहले विश्वका दुई फरक भूगोललाई जाेडेकाे छ ।

समालोचक गुरूङ सुशान्तले `तमाेर र थेम्स´दुई फरक सभ्यतालाई जाेडेर कवयित्रीले `कवितात्मक भूगोल´बनाएकाे बताए । कवितामार्फत् गाेर्खा भर्तीकाे पुनर्विचारकाे माग गरेकी छन् । प्रतिरोधी स्त्री चेतनाकाे सशक्त प्रकटीकरण भएको गुरूङ बताउँछन् । उनका कविताहरूलाई गुरूङले `प्रतिरोधकाे भाषा´ भनेका छन् । 

कवि विमला तुम्खेवाअनुसार स्वलेखकीय शैलीसहित कविता साहित्यमा प्रभावशाली उपस्थिति जनाएकी लिम्बूको कविताहरू शक्तिशाली भावनाहरूकाे दस्तावेज हाे । 

डा. तुलसी गाैतमले `थेम्सकाे लहरमा तमाेरकाे स्पर्श´नारी संवेदनाकाे दृष्टिले अब्बल कृति भएको बताए । उनले भने- `किन किनारिन्छन् आमाहरू ?´ र `प्रेम´ जस्ता कविताहरूमा नारी संवेदना अत्यन्तै सशक्त ढङ्गले प्रकट भएको छ ।´  

कवयित्री लिम्बूको काव्यिक चेतशक्ति चानचुने नभएको र त्याे कविताहरूमा जीवन्त रूपमा अभिव्यक्त भएको पनि समालाेचक गाैतमले बताए । 

चलचित्र निर्देशक एवम् कवि नविन लिम्बुले उक्त कृतिमा याक्थुङ चेतना, समग्रता, सम्पूर्णता, सहअस्तित्व रहेको उल्लेख गर्दै महिलावादको विषय पनि रहेको भनाइ राखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *