बोर्डले सार्वजनिक गर्यो नतिजा हेर्ने माध्यम,कसरी हेर्न सकिन्छ ?
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।
नतिजा प्रकाशनको तयारीसँगै बोर्डले विद्यार्थीहरूले नतिजा प्राप्त गर्न सक्ने विभिन्न माध्यमहरूको सूची पनि सार्वजनिक गरेको छ।
परीक्षा बोर्डले सूचना जारी गर्दै नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर सेवा तथा विभिन्न वेबसाइटमार्फत हेर्न सकिने जानकारी दिएको हो।
बोर्डका अनुसार विद्यार्थीहरूले आफ्नो सिम्बोल नम्बर प्रयोग गरेर मोबाइल एसएमएस सेवा, फोन कलमार्फत आईभीआर प्रणाली तथा अनलाइन वेबसाइटबाट सहज रूपमा नतिजा हेर्न सक्नेछन्।
हरेक वर्ष एसइईको नतिजा सार्वजनिक भएपछि वेबसाइटमा अत्यधिक चाप पर्ने भएकाले बोर्डले एकभन्दा बढी माध्यम प्रयोग गर्न आग्रह गर्दै आएको छ।
यस वर्ष पनि लाखौं विद्यार्थी परीक्षामा सहभागी भएकाले नतिजा प्रकाशनपछि अनलाइन प्रणालीमा उच्च ट्राफिक हुने अनुमान गरिएको छ। त्यसैले बोर्डले वैकल्पिक माध्यमको प्रयोग गर्न सुझाव दिएको छ।

