`

३९ वर्षीया फर्नान्डेज बनिन् कोस्टारिकाकी राष्ट्रपति

Nepal One HD २७ वैशाख २०८३ ११:५०
विश्व

एजेन्सी। लाउरा फर्नान्डेज ले कोस्टारिकाकी नयाँ राष्ट्रपतिका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। राजधानी सान होसे स्थित राष्ट्रिय रङ्गशालामा आयोजित विशेष समारोहबीच उनले आगामी चार वर्षका लागि राष्ट्रपतिको कार्यभार सम्हालेकी हुन्।

३९ वर्षीया फर्नान्डेजलाई निवर्तमान राष्ट्रपति रोड्रिगो चाभेस ले राष्ट्रपतीय ओहोदाको प्रतीक ‘पटुका’ हस्तान्तरण गरेका थिए। समारोहमा विभिन्न देशका विशिष्ट अतिथिसहित करिब २० हजार सर्वसाधारणको उपस्थिति रहेको थियो।

सार्वभौम जनपार्टी का तर्फबाट उम्मेदवार बनेकी फर्नान्डेजले गत फागुन १ गते सम्पन्न निर्वाचनमा विजय हासिल गरेकी थिइन्। यसअघि उनले राष्ट्रिय योजना तथा आर्थिक नीति मन्त्री र त्यसपछि राष्ट्रपतीय मन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेकी छन्।

राष्ट्रपतिका रूपमा आफ्नो पहिलो सम्बोधनमा फर्नान्डेजले अपराध नियन्त्रणलाई सरकारको प्रमुख प्राथमिकता बनाउने बताइन्। उनले राज्यका निकायमा लागुऔषध तस्करीको प्रभाव रोक्न कडा कदम चाल्ने प्रतिबद्धतासमेत व्यक्त गरिन्।

सोही अवसरमा उनले मुलुकमा ठूलो केन्द्रीय कारागार निर्माण गर्ने तथा विश्वकै अत्याधुनिकमध्ये एक प्रहरी निगरानी केन्द्र स्थापना गर्ने योजना सार्वजनिक गरिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *