चोरी भएका ६५ दुईपांग्रे सवारी धनीलाई फिर्ता, ट्राफिक प्रहरीलाई खाँदा लगाएर धन्यवाद (तस्वीरहरू)
काठमाडौं। उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ६५ वटा दुईपांग्रे सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गरेको छ। एक समारोहबीच ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट चोरी भएका सवारी फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो।
सवारी फिर्ता पाएपछि धनीहरूले खुशी व्यक्त गर्दै ट्राफिक प्रहरीप्रति आभार प्रकट गरेका छन्। केहीले खादा लगाएर प्रहरीलाई धन्यवाद दिएका थिए।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चोरी भएका सवारी साधन विभिन्न स्थानबाट बरामद गरी कानुनी प्रक्रिया पूरा गरेर धनीलाई बुझाइएको हो। यसले उपत्यकामा सवारी चोरी नियन्त्रणमा प्रहरीको सक्रियता देखिएको जनाइएको छ।
यसैबीच, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यातायात व्यवस्था विभागलाई ३१ वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि सिफारिस गरेको छ।
कार्यालयका अनुसार ती चालकहरू पटक-पटक ट्राफिक नियम उल्लङ्घनमा संलग्न रहेको पाइएपछि कारबाहीका लागि सिफारिस गरिएको हो। एमएसपी नवराज अधिकारीका अनुसार नियम उल्लङ्घनलाई नियन्त्रण गर्न कडाइका साथ निगरानी र कारबाही प्रक्रिया अघि बढाइएको छ।















