`

माइक्रोसफ्टभित्रै क्लाउड एआई : एन्थ्रोपिकले सार्वजनिक गर्‍यो नयाँ सुविधा

Nepal One HD २७ वैशाख २०८३ १६:०६
विज्ञान-प्रविधि

काठमाडौं। एन्थ्रोपिकले माइक्रोसफ्ट ३६५ एड-इन्स औपचारिक रूपमा सार्वजनिक गरेपछि अब योग्य प्रयोगकर्ताले एक्सेल, पावरपोइन्ट र वर्डभित्रै क्लाउड एआई प्रयोग गर्न सक्ने भएका छन् । साथै, आउटलुकमा क्लाउडको इन्टिग्रेसन पनि सार्वजनिक बिटा चरणमा पुगेको छ ।

नयाँ सुविधासँगै क्लाउड एआई अब सामान्य च्याटबटमा मात्र सीमित नरही माइक्रोसफ्टका अफिस एपहरूभित्रै डकुमेन्ट तयार गर्ने, सम्पादन गर्ने, विश्लेषण गर्ने तथा विभिन्न कार्य स्वतः सम्पन्न गर्न सक्ने स्तरमा पुगेको एन्थ्रोपिकले जनाएको छ ।

एन्थ्रोपिकका अनुसार क्लाउड फर एक्सेल, पावरपोइन्ट र वर्ड पहिलो पटक अक्टोबर २०२५ मा माइक्रोसफ्ट ३६५ एपहरूसँग एकीकृत रूपमा परीक्षण गरिएको थियो । अहिले भने यो सुविधा औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।

यसलाई एन्थ्रोपिक र माइक्रोसफ्टबीचको सहकार्य अझ बलियो बनेको संकेतका रूपमा हेरिएको छ । गत वर्ष माइक्रोसफ्टले आफ्नो कोपाइलट प्रणालीमा पनि एन्थ्रोपिकका एआई मोडेल समावेश गरेको थियो ।

हाल यो सुविधा सबै प्रयोगकर्ताका लागि खुला गरिएको छैन । क्लाउड प्रो, म्याक्स, टिम र इन्टरप्राइज सब्स्क्राइबरहरूले मात्रै माइक्रोसफ्ट ३६५ भित्र क्लाउड एआई प्रयोग गर्न सक्नेछन् ।

यो सुविधा वेब, विन्डोज र म्याक प्लेटफर्ममा उपलब्ध रहेको छ भने एक्सेल संस्करण आइप्याडमा पनि प्रयोग गर्न सकिने बताइएको छ । व्यक्तिगत प्रयोगकर्ताले माइक्रोसफ्ट मार्केटप्लेसबाट डाउनलोड गरेर प्रयोग गर्न सक्नेछन् भने इन्टरप्राइज प्रयोगकर्ताले एडमिनमार्फत एक्टिभेसन लिनुपर्ने हुन्छ ।

क्लाउड एआईले एक्सेलभित्र वर्कबुक सम्बन्धी प्रश्नहरूको उत्तर दिन, डेटा अपडेट गर्न, त्रुटि सुधार गर्न तथा अन्य टुलबाट जानकारी ल्याउन सहयोग गर्ने बताइएको छ । यसले जटिल डेटा व्यवस्थापनलाई सहज बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

पावरपोइन्टमा क्लाउड एआईले स्लाइड तयार गर्ने, सम्पादन गर्ने, सम्पूर्ण प्रस्तुति बनाउने तथा चार्ट र डायाग्राम थप्ने काम गर्न सक्छ । यसले प्रस्तुति तयार गर्ने समय उल्लेखनीय रूपमा घटाउने दाबी गरिएको छ ।

वर्डभित्र क्लाउड एआईले डकुमेन्टसम्बन्धी प्रश्नको उत्तर दिने, चयन गरिएको टेक्स्ट सम्पादन गर्ने, स्टाइल र फर्म्याटिङ सुरक्षित राख्ने तथा टेम्प्लेटअनुसार सामग्री तयार गर्ने सुविधा दिन्छ ।

यसले कमेन्ट थ्रेड पढेर त्यसअनुसार सामग्री परिमार्जन गर्न पनि सक्षम रहेको एन्थ्रोपिकले जनाएको छ ।

एन्थ्रोपिकले क्लाउड फर आउटलुकलाई सार्वजनिक बिटा चरणमा उपलब्ध गराएको छ । हाल यो सुविधा वेब, विन्डोज र म्याकमा सीमित प्रयोगकर्ताले प्रयोग गर्न सक्नेछन् ।

आउटलुकभित्र क्लाउड एआईले इनबक्समा रहेका नपढिएका इमेल विश्लेषण गरेर महत्वपूर्ण सन्देश छुट्याउन सक्छ । साथै, प्रयोगकर्ताको लेखन शैलीअनुसार रिप्लाइ ड्राफ्ट तयार गर्न पनि सहयोग गर्ने बताइएको छ ।

यसका अतिरिक्त लामो इमेल थ्रेडको सारांश तयार गर्ने, अट्याचमेन्ट पढ्ने, मिटिङ तालिका मिलाउने तथा आगामी बैठकका लागि ‘वन–पेज ब्रिफ’ तयार गर्ने सुविधा पनि समावेश गरिएको छ ।

प्रविधि क्षेत्रका विश्लेषकहरूले माइक्रोसफ्ट ३६५ भित्र क्लाउड एआईको आगमनले कार्यालय सम्बन्धी कामकाज अझ स्वचालित र प्रभावकारी बन्ने बताएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *