`

बालेनलाई सांसद पन्तले भनिन् – ‘अंकगणितको आडमा महिलामाथि जघन्य हिंसा गर्नुभयो’

Nepal One HD २८ वैशाख २०८३ १५:१७
नेपाली कांग्रेस

काठमाडौं। राष्ट्रिय सभा अन्तर्गत नेपाली कांग्रेस संसदीय दलकी नेता कमलादेवी पन्तले प्रधानमन्त्री बालेन शाहले अध्यादेश र अंकगणितको आडमा महिलामाथि जघन्य हिंसा गरेको आरोप लगाएकी छन्।

प्रधानन्यायाधीश सिफारिस प्रकरणसँग सम्बन्धित विषय उठाउँदै उनले सोमबार राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री शाहप्रति कडा आलोचना गरेकी हुन्।

उनले भनिन्, ‘कुनै दिन आफ्नो श्रीमतीसँग जोडिएको एउटा घटनामा खुबै संवेदनशील देखिएर सामाजिक सञ्जालमा नानाभाँती लेख्नुहुने सम्माननीय प्रधानमन्त्रीज्यूले आज अर्को सक्षम महिलामाथि बहुमतको अहंकार प्रदर्शन गर्नुभएकोबाट समग्र महिलाको मन दुखेको छ। हामी महिलाहरू दुःखी छौं। महिला भएकै कारणले निमित्त चलाइसकेकी सिनियर महिला प्रधानन्यायाधीशमाथि आक्रमण गरिएको छ। अध्यादेश र अंकगणितको आडमा गरिएको यो जघन्य महिला हिंसा हो भन्ने आम ठम्याइ छ।’

पूर्ववर्ती सरकारको विकल्पका रूपमा परिवर्तनको नारासहित सत्तारोहण भएको वर्तमान सरकारले पहिलो चरणमै अध्यादेशमार्फत संवैधानिक परिषद्को कार्यविधिमा पुरानै चलखेललाई समेत उछिनेको उनले आरोप लगाइन्।

सांसद पन्तले प्रधानमन्त्री शाहको कदमले सर्वोच्च अदालतको गरिमा, सम्मान र भरोसामाथि प्रहार भएको दाबी गरिन्। उनका अनुसार यसले न्यायिक क्षेत्रको निष्पक्षता र मर्यादामा दीर्घकालीन नकारात्मक प्रभाव पार्न सक्ने खतरा देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *