कर्णालीमा अब कांग्रेस नेतृत्वको सरकार बन्छ : सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कर्णाली प्रदेशमा अब कांग्रेस नेतृत्वको सरकार बन्ने बताएका छन् ।
कर्णाली प्रदेशस्तरीय समीक्षा बैठकमा सहभागी हुन सुर्खेत पुगेका थापाले एमालेसँग भएको राजनीतिक समझदारीअनुसार अब कांग्रेसले सरकारको नेतृत्व गर्ने बताएका हुन् ।
उनले भने, ‘अहिले प्रदेशमा हामी सरकारमा छौँ, एमाले र हाम्रो बीचमा भएको समझदारी अनुसार अब हामीले सत्ता चलाउने बेला आएको छ ।’
थापाले राजनीतिक सहमतिअनुसार कर्णालीमा नेतृत्व परिवर्तनको प्रक्रिया अगाडि बढ्ने पनि बताए ।
उनले भने, ‘हाम्रो नेतृत्वमा सरकार बन्दा त्यो सरकारले कस्तो कार्यशैली अपनाउने र जनताका लागि के गर्ने भन्ने कुरा अझ बढी महत्त्वपूर्ण हुन्छ ।’
थापाले पार्टी जिम्मेवारीबाट सरकारमा पुगेका नेता तथा कार्यकर्ता आर्थिक अपचलनमा मुछिए अख्तियारले कारबाही गर्नुभन्दा अघि नै पार्टीले कारबाही गर्ने चेतावनी दिए ।
उनले केन्द्र सरकारले गरेका राम्रो कामको समर्थन र गलत कामको खुलेर विरोध गर्ने पनि बताए ।
