`

उत्कृष्ट नर्सहरुलाई ‘डेजी अवार्ड’ले सम्मान गर्दै ‘नर्भिक’

Nepal One HD २९ वैशाख २०८३ १२:५१
जीवनशैली/स्वास्थ्य

काठमाडौं। नर्भिक इन्टरनेशनल हस्पिटलले अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा उत्कृष्ट नर्सिङ कर्मचारीलाई ‘डेजी अवार्ड’ प्रदान गर्ने भएको छ। अस्पतालले अमेरिकास्थित डेजी फाउन्डेसनसँगको सहकार्यमा भोलि (बैशाख २९ गते / १२ मे) अवार्ड वितरण गर्ने जनाएको हो।

अस्पतालले केही समयअघि नै उत्कृष्ट नर्स छनोटका लागि मनोनयन प्रक्रिया खुला गरेको थियो। यस क्रममा बिरामी, बिरामीका आफन्त, सहकर्मी नर्स, चिकित्सक तथा अन्य कर्मचारीहरूले आफूलाई उत्कृष्ट लागेका नर्सलाई सिफारिस गरेका थिए। सोही मनोनयनबाट छनोट भएका उत्कृष्ट ४ जना नर्सिङ कर्मचारीलाई ‘डेजी अवार्ड’ मार्फत सम्मान गरिने अस्पतालले जनाएको छ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्रका अनुसार नर्सिङ पेसामा संलग्न कर्मचारीको मनोबल बढाउने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो। उनले अवार्डले नर्सहरूको सेवाप्रति समर्पण अझ बढाउने विश्वास व्यक्त गर्दै समग्र अस्पताल सेवामा सकारात्मक ऊर्जा थपिने बताए।

नर्भिक अस्पतालले नर्सहरूको सेवा र दक्षतालाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिने उद्देश्यले डेजी फाउन्डेसनसँग सहकार्य गरेको हो। हाल डेजी फाउन्डेसनमा ४६ देशका ७ हजारभन्दा बढी स्वास्थ्य संस्था आबद्ध रहेका छन्।

यसै अवसरमा नर्भिक अस्पतालले १० वर्षभन्दा बढी समयदेखि निरन्तर सेवा दिइरहेका २१ जना नर्सिङ कर्मचारीलाई पनि विशेष सम्मान गर्ने जनाएको छ। अस्पतालले नर्सिङ पेसालाई प्राथमिकतामा राख्दै सेवा-सुविधा र पारिश्रमिकमा सुधार गर्दै आएको पनि जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *