राईसहित ८ जना पक्राउ
विराटनगर। मोरङका विभिन्न स्थानबाट दुई दिनको अवधिमा ब्राउन सुगर (खैरो हेरोइन) सहित आठ जना पक्राउ परेका छन्। प्रहरीले रंगेली र कानेपोखरी क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
सोमबार रंगेली नगरपालिका–४ चोप्राहाबाट इलाका प्रहरी कार्यालय रंगेली र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले चार जनालाई पक्राउ गरेको हो। भारतबाट मोटरसाइकलमा नेपाल प्रवेश गर्दै गरेका बेलबारी नगरपालिका–६ का २१ वर्षीय समीर राई र बेलबारी–४ का ३४ वर्षीय शक्ति राईलाई जाँचका क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। शक्तिको साथबाट २० ग्राम ९ सय मिलिग्राम ब्राउन सुगर फेला परेको बताइएको छ।
त्यसैगरी, भारतबाट पैदल नेपाल प्रवेश गर्दै गरेका रंगेली–७ का २५ वर्षीय कार्तिककुमार मण्डल र पथरीशनिश्चरे–६ का २९ वर्षीय मुकेश महतोलाई पनि प्रहरीले पक्राउ गरेको छ। मण्डलको साथबाट ३ ग्राम र महतोको साथबाट ७ ग्राम ५९० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा अघि बढाइएको छ।
यसैबीच, कानेपोखरी गाउँपालिका–६ शिवशक्ति चोकबाट पनि आइतबार राति चार जना पक्राउ परेका छन्। प्रहरी चौकी रमाइलोबाट खटिएको टोलीले स्थानीय २० वर्षीय प्रज्वल राई, १८ वर्षीय अन्जन जिमी, २६ वर्षीय लोकेश घले र १८ वर्षीय राज विकलाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट ३ ग्राम ८५० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
