`

अध्यादेशमार्फत शासन चलाएको भन्दै कांग्रेसको आपत्ती

Nepal One HD २९ वैशाख २०८३ १४:११
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भिष्मराज आङ्देम्बे ले सरकारले अध्यादेशमार्फत शासन चलाएर संसदीय गरिमा र लोकतान्त्रिक मूल्य मान्यतामाथि चोट पुर्‍याएको आरोप लगाएका छन्। संसद् अधिवेशनलाई सम्बोधन गर्दै उनले आह्वान भइसकेको अधिवेशन स्थगित गरेर सरकारले करिब डेढ सय कानुन संशोधन तथा नयाँ कानुन अध्यादेशमार्फत ल्याएको भन्दै आपत्ति जनाए।

उनले संसद्को मुख्य अधिकार मानिने कानुन निर्माण प्रक्रिया खोसिएको टिप्पणी गर्दै संसदीय प्रणालीप्रति सरकारको निष्ठामाथि नै जनस्तरमा शंका उत्पन्न भएको बताए।

आङ्देम्बेले जेनजी विद्रोहको लहरमा बनेको सरकारलाई सुरुवातमै कांग्रेसले सकारात्मक र रचनात्मक सहयोगको प्रतिबद्धता जनाएको स्मरण गराउँदै अहिले सरकारको संवादहीन शैलीप्रति असन्तुष्टि व्यक्त गरे। ‘सरकारलाई फेसबुकमा खोज्नुपर्ने अवस्था सिर्जना हुनु लोकतान्त्रिक अभ्यासका लागि सुखद होइन,’ उनले भने।

उनले लोकतन्त्र संवाद, बहस, छलफल र सहकार्यको संस्कृति भएको उल्लेख गर्दै सरकारले संसद् र जनप्रतिनिधिको आवाजलाई सम्मान गर्नुपर्ने बताए। ‘लोकतन्त्र बन्द कोठाको शासन होइन, यो खुला र सरल प्रक्रिया हो,’ उनले भने।

कांग्रेस नेता आङ्देम्बेले अध्यादेशको संस्कृतिले असंसदीय शासनशैलीलाई प्रोत्साहन गरेको आरोप पनि लगाए। उनले यस्तो प्रवृत्तिले दीर्घकालीन रूपमा गम्भीर असर पार्न सक्ने चेतावनी दिए।

त्यस्तै, उनले देशमा बढ्दो महँगीका कारण जनजीवन कष्टकर बनेको उल्लेख गर्दै सरकार नागरिकप्रति संवेदनशील बन्नुपर्ने बताए। सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारी कदमप्रति आपत्ति जनाउँदै उनले भूमिहीन, अशक्त, बालबालिका र सुत्केरीलाई समेत सडकमा पुर्‍याउने शैली अमानवीय भएको टिप्पणी गरे।

‘सरकार अभिभावक बन्नुपर्ने हो, यमदूतजस्तो क्रुर बन्नु हुँदैन,’ उनले संसद्मा भने।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *