`

सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी : आङ्देम्बे

Nepal One HD २९ वैशाख २०८३ १४:१७
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भिष्मराज आङ्देम्बे ले सरकारले बजेट अधिवेशनलाई गम्भीर रूपमा नलिएको आरोप लगाएका छन्। संसद्मा बोल्दै उनले बजेटमाथि हुनुपर्ने व्यापक छलफल र विमर्शका लागि पर्याप्त समय नदिइएको बताएका हुन्।

आङ्देम्बेले बजेट सार्वजनिक हुनुअघि कम्तीमा दुई महिना पूर्व–बजेट छलफल हुनुपर्ने भए पनि सरकारले त्यसतर्फ ध्यान नदिएको बताए। ‘हामीले अधिवेशन दुई हप्ता अगाडि नै बोलाउन माग गरेका थियौँ, तर सरकारले संसद्को महत्व आत्मसात गर्न सकेन,’ उनले भने।

उनले आदेश र घोषणाबाट शासन चलाउने शैली रोजिएको टिप्पणी गर्दै यो अपरिपक्वता हो कि नियत भन्ने प्रश्न उठाए। संसद् जनताका पीर, मर्का, माग र सुझाव अभिव्यक्त हुने थलो भए पनि सरकारले त्यसलाई कमजोर बनाएको उनको आरोप थियो।

कांग्रेस नेता आङ्देम्बेले सरकारको नीति तथा कार्यक्रममाथि पनि प्रश्न उठाए। सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेण्डामा बनेको सरकारले नयाँ शब्दावली प्रयोग गरे पनि सारमा पुरानै सोच दोहोरिएको उनले बताए।

विदेश नीति, सार्वजनिक शिक्षामा प्रविधि, रणनीतिक पूर्वाधार, विश्वविद्यालयमा ‘बोर्ड अफ ट्रस्टी’ मोडल, सूचना प्रविधिमा आधारित सेवा निर्यात, डिजिटल व्यापार र रिमोट वर्कजस्ता विषय उल्लेख गरिए पनि ती कार्यान्वयनका लागि ठोस योजना नरहेको उनको भनाइ थियो।

उनले विगतमा पनि नीति तथा कार्यक्रम र बजेटबीच तालमेल नदेखिएको स्मरण गराउँदै यसपटक पनि त्यही प्रवृत्ति दोहोरिने संकेत देखिएको बताए। ‘नीति कार्यक्रम एकातिर र बजेट अर्कोतिर हुने रोग अझै हटेको छैन,’ उनले भने।

आङ्देम्बेले स्रोत व्यवस्थापन, सार्वजनिक खर्चमा हुने ‘लिकेज’ रोक्ने उपाय र पूँजीगत खर्च बढाउने स्पष्ट योजना सरकारसँग नरहेको आरोप लगाए। उनका अनुसार आगामी बजेट सपना बाँड्नेभन्दा परिणाममुखी र प्राथमिकतामा आधारित हुन आवश्यक छ।

उनले सार्वजनिक ऋणको भार बढ्दै गएको अवस्थामा राज्यको आर्थिक क्षमता कमजोर रहेको उल्लेख गर्दै बजेटको विश्वसनीयतामाथि पनि प्रश्न उठाए। ‘सुरुमा ठूलो आकारको बजेट ल्याउने र पछि आधा वर्षमै घटाउने प्रवृत्ति अन्त्य हुनुपर्ने हो, तर यसपटक पनि सुधारको संकेत देखिएको छैन,’ उनले भने।

यद्यपि, उनले अनुभवी अर्थमन्त्रीले नयाँ बजेटमार्फत स्रोत र साधन परिचालनमा नयाँ मानक स्थापित गर्ने अपेक्षा व्यक्त गरे। तर सरकारको नीति तथा कार्यक्रममा आशा जगाउने सिर्जनात्मक सोच नदेखिएको टिप्पणी गर्दै उनले ‘सधैंझैँ मनोटोनस शब्दावलीमार्फत कर्मकाण्ड मात्रै पूरा गरिएको’ आरोप लगाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *