प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको जानकारी संसदलाई गराइयोस् : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भिष्मराज आङ्देम्बे ले संविधान संशोधन प्रक्रिया पर्याप्त संवेदनशील र सहभागितामूलक नभएको भन्दै सरकारको आलोचना गरेका छन्। संसद्मा बोल्दै उनले संविधान संशोधन प्रशासनिक विषय मात्र नभई नागरिक अपनत्वसँग जोडिएको गम्भीर विषय भएको बताए।
आङ्देम्बेले वर्तमान संविधान लामो बहस, छलफल र संविधानसभामार्फत निर्माण भएको स्मरण गराउँदै संशोधन प्रक्रियालाई पनि त्यत्तिकै गम्भीरताका साथ अघि बढाउनुपर्ने बताए। उनले हाल गठन गरिएको कार्यदल र सुरु गरिएको बहसले व्यापक स्वामित्व दिन नसकेको आरोप लगाए।
‘एउटा सामान्य कानुन निर्माणभन्दा पनि गहन र संवेदनशील विषय हो संविधान संशोधन,’ उनले भने, ‘यसलाई हतारो र सीमित प्रक्रियाबाट अघि बढाउँदा सही निकास नआउन सक्छ।’
कांग्रेसले सर्वोच्च अदालतका बहालवाला वा पूर्वन्यायाधीशको संयोजकत्वमा विज्ञसहित सर्वपक्षीय संविधान सुधार सुझाव आयोग गठन गर्नुपर्ने स्पष्ट धारणा राखेको उनले बताए।
त्यस्तै, आङ्देम्बेले नेपाल भारत खुला सीमाको संवेदनशीलतालाई सरकारले व्यवहारिक ढंगले बुझ्नुपर्ने धारणा राखे। भन्सारको सय रुपैयाँसम्बन्धी व्यवस्थाले सीमा क्षेत्रमा अनावश्यक हलचल ल्याएको भन्दै उनले सीमा क्षेत्रका नागरिकको जीवनशैलीलाई जबर्जस्ती औपचारिक बनाउन नहुने बताए।
उनले जलवायु परिवर्तनका कारण अग्रिम वर्षा र विपद्का असर देखिन थालिसकेको उल्लेख गर्दै सरकारको पूर्वतयारी कमजोर रहेको आरोप लगाए। गृह मन्त्रालयजस्तो संवेदनशील मन्त्रालय नेतृत्वविहीन रहनु राष्ट्रिय सुरक्षामाथिको खेलाँची भएको टिप्पणी गर्दै उनले यसले गम्भीर दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिए।
कांग्रेस नेता आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र साह को संसद्मा देखिएको व्यवहारमाथि पनि प्रश्न उठाए। आफ्नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बीचमै उठेर हिँडेको घटनाले संसद्को गरिमामाथि असर पुगेको उनले बताए।
‘प्रधानमन्त्री स्वास्थ्य समस्याका कारण बाहिरिनुभएको हो भने संसद्लाई जानकारी गराइयोस्,’ उनले भने, ‘अन्यथा यस्तो व्यवहारलाई अहंकार र मर्यादाहीन आचरणका रूपमा बुझ्न सकिन्छ।’
प्रधानमन्त्रीको गतिविधिले जनताको मन दुखेको र संसद्को सम्मानमा आघात पुगेको टिप्पणी गर्दै उनले सरकारलाई जिम्मेवार बन्न आग्रह गरे।
