`

संसदलाई ‘बलिदानको उपज’ भन्दै रास्वपालाई दिए प्रचण्डले बधाई

Nepal One HD २९ वैशाख २०८३ १४:४९
माओवादी केन्द्र

काठमाडौं। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदलाई समावेशी सहिदहरूको बलिदानको उपजका रूपमा व्याख्या गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले संसद भवनलाई भौतिक संरचना मात्र नभई विभिन्न आन्दोलन र संघर्षको परिणाम भएको बताए। उनले भने, ‘बाहिरबाट हेर्दा यो भवन सिमेन्ट, इँट र फलामले बनेको छ तर यसको अन्तर्यमा हजारौं सहिदको बलिदान रहेको छ।’

प्रचण्डका अनुसार हरेक वर्ग, वर्ण, जाति, लिंग र समुदायको प्रतिनिधित्व सुनिश्चित भएको वर्तमान संसद लामो संघर्ष र बलिदानको परिणाम हो। उनले थपे, ‘हरेक वर्ग, वर्ण, जाति, लिंग र समुदायको प्रतिनिधित्व भएको यो इन्द्रेणी संसदका लागि हिजो हामीले बन्दुक उठायौं, आन्दोलन गर्‍यौं।’

उनले संसदको आधार नै ऐतिहासिक आन्दोलन र शहादत भएको उल्लेख गर्दै भने, ‘यो भवनको जगमा त्यही शहादत छ। यसका हरेक भित्ता बलिदानले रंगिएका छन्। म इतिहासका ती सबै, सशस्त्र र शान्तिपूर्ण आन्दोलन एवं पछिल्लो जेनजी आन्दोलनसम्मका सहिद, बेपत्ता, घाइते योद्धा र अभियानकर्मीहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु।’

सम्बोधनका क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन सफलताको पनि प्रशंसा गरेका छन्। उनले भने, ‘हिजो सत्ता र प्रतिपक्ष दुवै भूमिकामा सहकार्य गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले यो निर्वाचनमा झण्डै दुई तिहाइको सफलता पाएको छ। त्यसका लागि सभापति माननीय रवि लामिछाने र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहलाई मेरो विशेष बधाई छ।’

प्रचण्डले समावेशी लोकतन्त्र र आन्दोलनबाट प्राप्त उपलब्धिहरूको संरक्षण सबैको साझा जिम्मेवारी भएको धारणा पनि राखेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *