`

‘खल्ती’ले ल्यायो ब्याज सुविधा

Nepal One HD ३० वैशाख २०८३ ११:२७
विज्ञान-प्रविधि

काठमाडौं । डिजिटल भुक्तानी प्लेटफर्म खल्ती (आइएमई खल्ती लिमिटेड) ले वालेटमा रहेको रकममा ब्याज दिने सुविधा सुरु गरेको छ ।

ग्लोबल आइएमई बैंकसँगको साझेदारीमा सञ्चालनमा ल्याइएको यो सेवा अन्तर्गत प्रयोगकर्ताले वालेटमा रहेको ब्यालेन्समा प्रत्यक्ष ब्याज पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार प्रयोगकर्ताले वालेटमा रहेको रकममा वार्षिक २.७५ प्रतिशतका दरले ब्याज प्राप्त गर्नेछन् । उक्त ब्याज दैनिक रूपमा गणना गरिने र मासिक रूपमा स्वतः वालेटमै जम्मा हुने व्यवस्था गरिएको छ । ब्याजदर भने बैंकको मानक दरअनुसार समय–समयमा परिवर्तन हुन सक्ने जनाइएको छ ।

‘सुपर वालेट’ नाम दिइएको यो सुविधा कुनै पनि बैंकमा धाउनुपर्ने झन्झट बिना खल्ती एपमार्फत नै सक्रिय गर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।

उनले खल्तीलाई केवल भुक्तानी माध्यममा सीमित नराखी बचतको विकल्पका रूपमा विकास गर्न यो सेवा सुरु गरिएको उल्लेख गरे । यसअघि खल्तीसँग मर्ज हुनुअघि आइएमई पेले पनि यस्तै ब्याज सुविधा सञ्चालन गर्दै आएको थियो ।

यो सुविधा प्रयोग गर्न प्रयोगकर्ताको अकाउन्ट केवाईसी भेरिफाइ भएको हुनुपर्नेछ । साथै कम्तीमा १० वटा सफल कारोबार सम्पन्न गरेको वा वालेटमा १ हजार रुपैयाँ ‘ओभरनाइट ब्यालेन्स’ कायम गरेको हुनुपर्ने सर्त राखिएको छ ।

कम्पनीका अनुसार यो सुविधा व्यक्तिगत खाताका लागि मात्र उपलब्ध हुनेछ । मर्चेन्ट तथा पीओएस खाताले भने यो सुविधा पाउने छैनन् ।

सीईओ रेग्मीले भने, ‘नेपालको ठूलो जनसंख्या अझै पनि औपचारिक बैंकिङ प्रणालीभन्दा बाहिर छ । सुपर वालेटमार्फत विद्यार्थी, किसान, साना व्यवसायी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बचतको संस्कार र वित्तीय अनुशासनमा जोड्न सहयोग पुग्ने विश्वास गरेका छौं ।’

यसअघि यो सुविधा साविकको आइएमई पेबाट माइग्रेट भएका सीमित प्रयोगकर्ताका लागि उपलब्ध गराइएकोमा अब खल्तीका सबै योग्य प्रयोगकर्ताले प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *