`

नीति तथा कार्यक्रम कसैले लेखिदिएको जस्तो : ऐन महर

Nepal One HD ३१ वैशाख २०८३ १२:२८
नेकपा एमाले

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा एमाले सांसद ऐन महरले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि कडा आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले नीति तथा कार्यक्रम नै ध्यानपूर्वक नसुनेको आरोप लगाए । उनले सरकारमाथि विकास र जनमतको अपमान गरेको टिप्पणी गर्दै नीति तथा कार्यक्रमप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले समेत उदासीनता देखाएको बताए ।

‘सरकारकै मन्त्रीहरू किन उदासीन देखिएका छन् ? नीति तथा कार्यक्रम कसैले बाहिरबाट लेखिदिएको जस्तो देखिन्छ,’ उनले भने । उनले नीति तथा कार्यक्रमको राजनीतिक आधार के हो भन्ने प्रश्नसमेत उठाए ।

महरले २०६२/०६३ को जनआन्दोलनको भावना नीति तथा कार्यक्रममा समेटिन नसकेको आरोप लगाए । ‘जनआन्दोलनको उपलब्धिलाई किन सम्झिइएन ? यो सरकारले आखिर कुन व्यवस्था अभ्यास गर्न खोजेको हो ?’ भन्दै उनले सरकारको राजनीतिक दिशामाथि प्रश्न उठाए ।

उनले लोकतन्त्रप्रतिको जिम्मेवारीबारे राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा स्पष्ट हुनुपर्ने बताए । साथै नीति तथा कार्यक्रममा सिमान्तकृत, पिछडावर्ग, गरिब, असहाय, शिक्षा, स्वास्थ्य र युवाका मुद्दा समेटिन नसकेको उनको भनाइ थियो ।

सांसद महरले सर्वोच्च अदालतको फैसलालाई सरकारले बेवास्ता गरेको आरोपसमेत लगाए । ‘सर्वोच्च अदालतले ट्रेड युनियन खारेज गर्ने फैसला गरिसकेको अवस्थामा सरकारले त्यसलाई किन कार्यान्वयन नगरेको ? अदालतको मानहानी किन भइरहेको छ ?’ उनले प्रश्न गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *