कार्ययोजना नभएको नीति : गंगादेवी श्रेष्ठ
काठमाडौं । नेकपा (एमाले) की सांसद गंगादेवी श्रेष्ठले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन पक्षमा स्पष्ट योजना नभएको भन्दै पुनर्लेखन गर्नुपर्ने माग गरेकी छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रम समग्र रूपमा राम्रो देखिए पनि त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने ठोस खाका नभएको बताइन् । उनले यही कारणले नीति तथा कार्यक्रम पुनर्लेखन आवश्यक भएको धारणा राखिन् ।
सांसद श्रेष्ठले वर्तमान सरकार प्रमुख वालेन्द्र(बालेन) शाहको गतिविधिले पनि नीति तथा कार्यक्रमप्रतिको अस्पष्टता झल्काएको दाबी गरिन् । ‘जनताले पनि यही बुझिरहेका छन्,’ उनले भनिन् ।
जलवायु परिवर्तनसम्बन्धी विषय उल्लेख भए पनि कार्यान्वयन योजना स्पष्ट नभएको उनको टिप्पणी थियो । उनले पुराना सवारीसाधनबाट हुने धुँवा उत्सर्जन नियन्त्रण गर्दै तिनलाई क्रमशः विस्थापन र व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् ।
इँटा भट्टासम्बन्धी नीति उपत्यकामा मात्र सीमित नभई देशभर लागू गर्नुपर्ने आवश्यकता उनले औंल्याइन् ।
उनले सरकारले ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखे पनि त्यसको स्पष्ट कार्ययोजना नदेखिएको बताइन् । साथै बुढीगण्डकी जलविद्युत आयोजनालाई नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने माग गर्दै यसबाट १,२०० मेगावाट विद्युत उत्पादन र वार्षिक करिब ३१ अर्ब रुपैयाँ आम्दानी सम्भव हुने दाबी गरिन् ।
त्यसैगरी मध्यपहाडी लोकमार्गलाई पनि सरकारले प्राथमिकताका साथ नीति तथा कार्यक्रममा समेट्नुपर्नेमा उनले जोड दिइन् ।
