सरकारलाई ठिक ठाउँमा राख्ने तागत कांग्रेस राख्छ : गगन थापा
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई सही मार्गमा राख्ने क्षमता कांग्रेससँग रहेको बताएका छन्। गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री नियम र कानुनभन्दा बाहिर जान नसक्ने स्पष्ट पारे।
थापाले भने, “हामीले सरकारको अन्धो विरोध गर्नु हुँदैन, राम्रो कामको समर्थन गर्नुपर्छ। रास्वपाले पाँच वर्ष सरकार चलाउने अवसर पाएको छ, चलाओस्, तर सरकार सही ढङ्गले चल्नुपर्छ। संविधानलाई तलमाथि हुन नदिन कांग्रेससँग आवश्यक शक्ति छ।”
उनले निर्वाचनअघि आफूले कांग्रेस सरकारमा आए सुशासनका लागि तीव्र गतिमा काम गर्ने बताएका थिए भन्दै अहिलेको अवस्थामा पनि त्यही आवश्यकता रहेको उल्लेख गरे। “सुशासन ल्याउन हिजोको गति पर्याप्त हुँदैन,” उनले भने।
थापाले सरकारलाई गति र बेगको नाममा हतार र लहडमा निर्णय नगर्न सचेत गराए। राज्यले निजी क्षेत्रसँग गरेको व्यवहारको दीर्घकालीन असर पर्ने भएकाले त्यसबारे गम्भीर हुनुपर्ने उनको भनाइ थियो।
उनले संघीय तहमा उठ्ने प्रश्नहरू प्रदेश तहमा पनि उठ्नुपर्ने र सबै तहले पारदर्शिता तथा जवाफदेहिता देखाउन सक्नुपर्ने आवश्यकता औंल्याए।
