जेठ महिनाका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक
काठमाडौं। हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले आगामी जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक तथ्यांकअनुसार वैशाख महिनाको तुलनामा जेठमा बैंकहरूको औसत ब्याजदरमा सामान्य गिरावट देखिएको छ।
व्यक्तिगत निक्षेपतर्फको औसत ब्याजदर वैशाखमा ४.४ प्रतिशत रहेकोमा जेठका लागि घटेर ४.३४३ प्रतिशत कायम भएको छ। यस्तै, संस्थागत निक्षेपतर्फको औसत ब्याजदर पनि ३.२२९५ प्रतिशतबाट घटेर ३.२०४ प्रतिशतमा झरेको छ।
तथ्यांकअनुसार अधिकांश बैंकहरूले ब्याजदर यथावत राखेका छन् भने केही बैंकहरूले भने दर घटाएका छन्। एनएमबि बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक, नेपाल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र कुमारी बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन्।
सबैभन्दा बढी कटौती गर्ने बैंकहरूमा एनआईसी एशिया बैंक, हिमालयन बैंक र नेपाल बैंक रहेका छन्, जसले व्यक्तिगत निक्षेपतर्फ ०.२५ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन्। यता सिद्धार्थ बैंकले भने व्यक्तिगत निक्षेपको ब्याजदर ०.०५ प्रतिशतले वृद्धि गरेको छ।
संस्थागत निक्षेपतर्फ सिटिजन्स बैंक इन्टरनेसनलले ब्याजदर ०.५ प्रतिशत विन्दुले बढाएको छ भने कुमारी बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले संस्थागत निक्षेपको ब्याजदरमा उल्लेख्य कटौती गरेका छन्।
