एनसेलको मुख्यालयमा सीआईबीको छापा
काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छापा मारेको छ।
सीआईबी स्रोतका अनुसार, कम्पनीमा देखिएको अनियमितताबारे अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदनको सिफारिस तथा दूरसञ्चार प्राधिकरणबाट प्राप्त पत्राचारका आधारमा अनुसन्धान अघि बढाइएको हो।
एनसेललाई स्मार्ट टेलिकमको सामान लिलामी तथा त्यसअघि भएको शेयर बाँडफाँटसँग सम्बन्धित विवादास्पद गतिविधिका कारण अनुसन्धानको दायरामा ल्याइएको बताइएको छ।
स्रोतका अनुसार, एनसेलले स्मार्ट टेलिकम प्रकरणमा नेपाल इन्भेस्टमेन्ट बैंकसँग मिलेर गैरकानुनी रूपमा सम्पत्ति लिलामी गरेको विषयपछि कम्पनीका अन्य गतिविधिबारे पनि अनुसन्धान विस्तार गरिएको हो।
छापा क्रममा सीआईबी टोलीले कम्पनीको केन्द्रीय कार्यालयबाट केही महत्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।
