सुधन गुरुङमाथि निष्पक्ष छानबिन गर्न आङ्देम्बेको माग(भिडियाे)
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि लागेको आरोपबारे निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।
सरकारले गठन गरेको छानबिन समितिबारे शुक्रबार प्रतिक्रिया दिँदै आङ्देम्बेले समितिले सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए । उनले समितिले गुरुङलाई सफाइ दिने उद्देश्यले मात्र काम गर्न नहुने चेतावनीसमेत दिएका छन् ।
‘समितिले निष्पक्ष छानबिन गरोस्, चोख्याउने दाउ मात्र नगरोस्,’ उनले भने ।
पूर्वगृहमन्त्री गुरुङ विवादित व्यापारी दिपक भट्टसँगको सेयर लगानी तथा आर्थिक सम्बन्धका कारण विवादमा तानिएका थिए । उक्त विषय सार्वजनिक भएपछि उनीमाथि राजनीतिक तथा नैतिक दबाब बढेको थियो ।
त्यसपछि गुरुङले ९ वैशाखमा नैतिकताको आधार देखाउँदै गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । तर राजीनामाको तीन सातासम्म पनि सरकारले छानबिन समिति गठन नगरेको भन्दै आङ्देम्बेले गत बुधबार संसद्मा सरकारको आलोचना गरेका थिए ।
संसद् बैठकलाई सम्बोधन गर्दै उनले ‘पूर्वगृहमन्त्रीमाथि छानबिन नगर्ने तर अरूलाई भ्रष्टाचारको आरोपमा अल्गोरिदेमिक खेदाइ गर्ने प्रवृत्ति जायज छैन’ भन्दै सरकारको दोहोरो मापदण्डमाथि प्रश्न उठाएका थिए । उनले सदनबाटै ‘छानबिन समिति किन गठन भएन ?’ भन्दै सरकारसँग जवाफ माग गरेका थिए ।
आङ्देम्बेको आलोचनाको भोलिपल्ट सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अच्युत प्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको घोषणा गरेको थियो ।
समितिलाई गुरुङमाथि उठेका आरोपबारे अनुसन्धान गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।
