८८ अर्ब बढी पुग्यो सरकारी बेरुजु
काठमाडौं । महालेखा परीक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा उनले महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन औपचारिक रूपमा बुझाएका हुन् ।
प्रतिवेदन प्रस्तुत गर्दै महालेखा परीक्षक रायाले नेपालको संविधानको धारा २४१ बमोजिम आफ्नो जिम्मेवारीअनुसार सार्वजनिक निकायहरूको लेखापरीक्षण गरी प्रतिवेदन तयार गरिएको जानकारी दिए । उनले सार्वजनिक स्रोत–साधनको परिचालनमा नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यलाई आधार बनाइएको बताए ।
उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कुल ५ हजार ५२६ निकायको ९४ खर्ब ८४ अर्ब ५० करोड रुपैयाँ बराबरको लेखापरीक्षण सम्पन्न गरिएको छ ।
यसअन्तर्गत संघीय मन्त्रालय तथा निकायतर्फ ३ हजार ५० कार्यालय (२९ खर्ब १७ अर्ब ९५ करोड), प्रदेश मन्त्रालय तथा निकायतर्फ १ हजार १२४ कार्यालय (३ खर्ब २० अर्ब ३० करोड), स्थानीय तहतर्फ ७२१ निकाय (११ खर्ब ९ अर्ब ५२ करोड) तथा समिति एवं अन्य संस्थातर्फ ५७७ निकाय (४ खर्ब ४७ अर्ब ७७ करोड) को लेखापरीक्षण गरिएको छ ।
यस वर्ष कुल बेरुजु ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ कायम भएको छ । जसमध्ये संघीय सरकारी कार्यालयतर्फ ५३ अर्ब ४८ करोड ७७ लाख, प्रदेशतर्फ ५ अर्ब २२ करोड ८७ लाख, स्थानीय तहतर्फ १९ अर्ब ४ करोड ७७ लाख तथा समिति एवं अन्य संस्थातर्फ १० अर्ब ३२ करोड ७० लाख बेरुजु देखिएको छ ।
