करोडौँका स्वास्थ्य उपकरण ट्रमा सेन्टरदेखि प्रहरी अस्पतालसम्म प्रयोगविहीन
काठमाडौं। सरकारी अस्पतालहरूमा करोडौँ रुपैयाँ खर्चेर खरिद गरिएका अत्याधुनिक स्वास्थ्य उपकरणहरू वर्षौँदेखि प्रयोगविहीन अवस्थामा थन्किएको पाइएको छ । महालेखा परीक्षकको कार्यालय को पछिल्लो प्रतिवेदनले दक्ष जनशक्ति अभाव र कमजोर व्यवस्थापनका कारण उपकरणहरू उपयोगमा आउन नसकेको देखाएको हो ।
प्रतिवेदनअनुसार राष्ट्रिय ट्रमा सेन्टर मा ५ करोड ३७ लाख ८२ हजार रुपैयाँ मूल्यको क्याथल्याब मेसिन २०७२ सालदेखि सञ्चालनमा आउन सकेको छैन । करिब १० वर्षदेखि प्रयोगविहीन हुँदा बिरामीहरू निजी अस्पतालमा जान बाध्य भएका छन् ।
त्यसैगरी सोही अस्पतालमा २४ करोड ७७ लाख ९ हजार रुपैयाँको सिटी स्क्यान प्रणाली, १४ थान भेन्टिलेटर र ५ थान सी-आर्म मेसिनसमेत प्रयोगमा आउन नसकेको प्रतिवेदनमा उल्लेख छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा ७२ लाख ६० हजार रुपैयाँ बराबरका लिड ईसीजी केबलका ३०० सेट पनि थन्किएको पाइएको छ ।
त्यस्तै गजेन्द्र नारायण सिंह अस्पताल मा ४ करोड ९० लाख १५ हजार रुपैयाँ बराबरका एक्स-रे मेसिन, ल्याप्रोस्कोपी प्रणाली, एनेस्थेसिया मेसिन लगायतका उपकरण प्रयोगविहीन अवस्थामा छन् ।
औषधि उत्पादन गर्ने सरकारी निकाय सिंहदरबार वैद्यखाना विकास समिति मा पनि करिब ६० प्रकारका मेसिन प्रयोगमा नआएको देखिएको छ ।
यसैगरी नेपाल प्रहरी अस्पताल मा समेत १६ स्लाइसको सिटी स्क्यान र १.५ टेस्लाको एमआरआई मेसिन सञ्चालनमा आउन सकेका छैनन् ।
प्रतिवेदनले राज्यको ठूलो लगानीमा खरिद गरिएका उपकरण वारेन्टी अवधि सकिँदै जाँदा पनि प्रयोगमा नआउनु गम्भीर समस्या भएको बताएको छ ।
विज्ञहरूका अनुसार उपकरण खरिदमा कमिसनको चलखेल हुने तर सञ्चालनका लागि आवश्यक जनशक्ति, मर्मत र व्यवस्थापनमा ध्यान नदिँदा स्वास्थ्य क्षेत्रमा लगानी खेर गइरहेको छ ।

