`

सभामुखमाथि ‘छापामार शैली’को आरोप,कार्यसूची परिवर्तनप्रति जनमतको आपत्ति

Nepal One HD १ जेठ २०८३ १६:३७
जनमत पार्टी

जनकपुरधाम । मधेश प्रदेश सभामा सरकारको विश्वासको मतसम्बन्धी कार्यसूची अन्तिम समयमा परिवर्तन गरिएको विषयलाई लिएर जनमत पार्टीले तीव्र असन्तुष्टि जनाएको छ ।

जनमत पार्टीका प्रदेश सभा सदस्य संजयकुमार यादवले सभामुखले नियमावलीविपरीत ‘छापामार शैली’मा कार्यसूची हेरफेर गरेको आरोप लगाए । प्रदेश सभामा धारणा राख्दै उनले बिहान ११ बजे बस्ने भनिएको बैठकमा सरकारले विश्वासको मत लिने कार्यसूची अचानक हटाइनु संसदीय मर्यादा र लोकतान्त्रिक अभ्यासविपरीत भएको बताए ।

‘हामीले अध्ययन गरेको नियमावलीको कुन कानुन टेकेर सभामुखज्यूले कार्यसूची हेरफेर गर्नुभयो ?’ भन्दै उनले सभामुखमाथि प्रश्न उठाए ।

उनले एकपटक सरकारले विश्वासको मत लिने निर्णय गरिसकेपछि त्यसलाई दिने वा नदिने विषय सदनमै टुंगिनुपर्ने बताए । तर सत्तापक्षले आफ्नो राजनीतिक अनुकूलताअनुसार अन्तिम समयमा कार्यसूची परिवर्तन गर्नु संसदीय अभ्यासको अपमान भएको उनको भनाइ थियो ।

यादवले सभामुखजस्तो गरिमामय पदलाई सत्ता गठबन्धनको स्वार्थअनुसार प्रयोग गर्नु राम्रो सन्देश नभएको टिप्पणी गरे । उनले सरकारले अझै पनि जनमुखी काम गर्न नसके प्रदेशको राजनीतिक अवस्था थप जटिल बन्न सक्ने चेतावनीसमेत दिए ।

आज बिहान ११ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक ढिलाइ हुँदै साढे ३ बजेपछि मात्रै सुरु भएको थियो । आजबाट मधेश प्रदेश सभाको सातौँ अधिवेशन पनि सुरु भएको छ ।

गत वैशाख २२ गते जनमत पार्टीले नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संविधानअनुसार सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्था बनेको थियो । सोहीअनुसार आज विश्वासको मत लिने तयारी भए पनि नेपाली कांग्रेसभित्रै ‘फ्लोर क्रस’ हुने सम्भावना देखिएपछि अन्तिम समयमा सरकारले कार्यसूची परिवर्तन गराएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *