`

सीके राउतले भने- ‘हामी सरकारमा भएको भए लिपुलेक फिर्ता भइसक्थ्यो’ [भिडियो]

Nepal One HD २५ जेठ २०८३ १३:०१
जनमत पार्टी

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके राउत) ले सीमाको रक्षा मधेसीले गरिरहेको बताएका छन्।

सोमबार काठमाडौंको माइतीघरमा जनमत पार्टीले गरेको प्रदर्शनलाई सम्बोधन गर्दै उनले सीमामा लडाई गर्ने मधेशी भएको बताएका हुन्।

उनले भने, ‘आजसम्म सीमामा लडेर मधेसीले सीमाको रक्षा गरेका छन्।  तपाईहरुले देव नारायण यादवको नाम सुन्नु भएको होला।  सप्तरीमा ठुलो आन्दोलन नै भएको थियो। हामी त्यसरी नै आफ्नो सीमाको रक्षा गर्दै आएका छौँ।  किनकी सीमामा हामी बस्छौं।  हामीले रक्षा गरेर देशको रक्षा भएको हो।’ उनले भने ‘लिपुलेक लिम्पियाधुराको कुरा उठेको छ। मधेशीको हातमा शासन सत्ता नै छैन। यदि मधेशीको हातमा शासन सट्टा भएको भए आजको  जुन हालत उक्त भूमीको भएको छ त्यस्तो हालत कहिल्यौ हुने थिएन।’

त्यस्तै उनले मधेसका जनताको मतको आधारमा सरकार गठन हुने भए पनि उनीहरूका अधिकार भने लामो समयदेखि उपेक्षा हुँदै आएको आरोप लगाएका छन्।

नेपालमा जुनसुकै शासन व्यवस्था आए पनि मधेसका मागप्रति राज्य सधैं अनुदार रहेको उनले दाबी गरे।

राउतले मधेसबाट मत लिएर सरकार बनाउने तर अधिकारका सवालमा बेवास्ता गर्ने प्रवृत्ति निरन्तर रहेको टिप्पणी गरे। उनले राणा शासनदेखि हालसम्मका राजनीतिक शक्तिहरूले मधेसलाई न्याय दिन नसकेको आरोपसमेत लगाए।

उनका अनुसार २००७ सालपछि कांग्रेस र कम्युनिष्ट दुवै दलले सत्ता नेतृत्व गरे पनि मधेसी समुदायले अझैसम्म पूर्ण अधिकार नपाएको स्थिति कायम छ। नागरिकता, सुकुम्वासी समस्या समाधान र स्वायत्तता जस्ता मागहरू वर्षौंदेखि सम्बोधन हुन नसकेको उनको भनाइ थियो।

सिके राउतले माओवादी सशस्त्र आन्दोलनपछि पनि मधेसी समुदाय अपेक्षित उपलब्धिबाट वञ्चित भएको दाबी गर्दै आन्दोलन र परिवर्तनका चरणहरूमा समेत मधेस ठगिएको टिप्पणी गरे।

‘मधेसलाई राणाहरूले पनि ठगे, उपनिवेश शासन नै लादे। कांग्रेस–कम्युनिष्टहरूले पनि विगत ७५ वर्षदेखि ठग्दै आएका छन्,’ उनले भने, ‘मत चाहिँ मधेसबाट लिने तर अधिकार नदिने षड्यन्त्र भइरहेको छ।’

उनले वर्तमान सरकारलाई मधेसका मागहरू गम्भीरतापूर्वक सम्बोधन गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी रहेको जानकारी दिए।

जनमत पार्टीले मधेसका राजनीतिक, सामाजिक र संवैधानिक अधिकार सुनिश्चित नभएसम्म विभेद अन्त्य नहुने निष्कर्ष पुनः दोहोर्याएको छ।
भिडियो:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *