`

इबोला आतङ्क : ६५ जनाको मृत्यु

Nepal One HD १ जेठ २०८३ १७:२६
जीवनशैली/स्वास्थ्य

एजेन्सी। कंगो प्रजातान्त्रिक गणराज्य (डीआर कंगो)को पूर्वी इतुरी प्रान्तमा इबोलाको नयाँ प्रकोप फैलिएको छ । अफ्रिकाको प्रमुख स्वास्थ्य निकाय रोग नियन्त्रण तथा रोकथामका लागि अफ्रिका केन्द्र (सीडीसी अफ्रिका)ले शुक्रबार इबोला संक्रमणको प्रकोप घोषणा गर्दै हालसम्म २४६ संक्रमित फेला परेको र कम्तीमा ६५ जनाको मृत्यु भएको जनाएको हो ।

संक्रमण विशेषगरी सुनखानीका लागि परिचित मोङ्गवालु र र्वामपारा क्षेत्रमा तीव्र रूपमा फैलिएको बताइएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार संक्रमण सीमावर्ती क्षेत्रमा समेत फैलिन सक्ने उच्च जोखिम देखिएकाले निगरानी तथा नियन्त्रण प्रयास तीव्र बनाइएको छ ।

सीडीसी अफ्रिकाले डीआर कंगो, युगान्डा, दक्षिण सुडान तथा अन्य अन्तर्राष्ट्रिय साझेदारहरूसँग संयुक्त बैठक बोलाएको छ । बैठकमा सीमा क्षेत्रको निगरानी, आपतकालीन स्वास्थ्य प्रतिक्रिया र संक्रमण रोकथामका उपायबारे छलफल हुने जनाइएको छ ।

राजधानी किन्शासास्थित ‘इन्स्टिट्युट नेसनल डे रिसर्च बायोमेडिकल’ (आईएनआरबी)मा गरिएको प्रारम्भिक परीक्षणमा जाँच गरिएका २० नमुनामध्ये १३ वटामा इबोला भाइरस पुष्टि भएको छ । यी परीक्षण डीआर कंगोको स्वास्थ्य मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य संस्थासँगको समन्वयमा गरिएको बताइएको छ ।

स्वास्थ्य अधिकारीहरूका अनुसार हालसम्म मृत्यु भएका ६५ जनामध्ये चार जनामा प्रयोगशालाबाट इबोला पुष्टि भएको छ भने बाँकीमा पनि इबोलासँग मिल्दोजुल्दो लक्षण देखिएको छ ।

इटुरी प्रान्तको राजधानी बुनियामा समेत थप शंकास्पद संक्रमित भेटिएका छन् । ती नमुनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

डीआर कंगो सरकारले हालसम्म राष्ट्रिय आपतकाल घोषणा नगरे पनि सरकारी अधिकारीहरूले पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी सार्वजनिक गर्ने तयारी गरेका छन् ।

इबोला भाइरस पहिलोपटक सन् १९७६ मा हालको डीआर कंगोमै पत्ता लागेको थियो । वैज्ञानिकहरूका अनुसार यो भाइरस चमेरोबाट मानिसमा सरेको हुनसक्ने विश्वास गरिन्छ । अहिले देखिएको संक्रमण देशमा पुष्टि भएको १७औँ इबोला प्रकोप हो ।

इबोला संक्रमित व्यक्तिको शरीरबाट निस्किने तरल पदार्थसँग प्रत्यक्ष सम्पर्क हुँदा फैलिने गर्छ । यसले अत्यधिक रक्तस्राव, अंग फेल हुने समस्या तथा गम्भीर शारीरिक जटिलता निम्त्याउन सक्छ ।

पछिल्ला ५० वर्षमा अफ्रिकाका विभिन्न देशहरूमा इबोलाबाट करिब ५० हजार मानिसको मृत्यु भइसकेको छ । डीआर कंगोको सबैभन्दा घातक इबोला प्रकोप सन् २०१८ देखि २०२० बीच भएको थियो, जसमा करिब २ हजार ३०० जनाको मृत्यु भएको थियो ।

त्यसबेला पूर्वी क्षेत्रमा हिंसा, अविश्वास र कमजोर स्वास्थ्य सेवाका कारण महामारी नियन्त्रण गर्न ठूलो चुनौती सामना गर्नुपरेको थियो । गत वर्ष पनि देशको मध्य क्षेत्रमा फैलिएको अर्को इबोला प्रकोपमा ४५ जनाको मृत्यु भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *