मुस्ताङमा वन्यजन्तु आक्रमणबाट २३९ पशुधन क्षति
मुस्ताङ। पछिल्लो चार वर्षको अवधिमा मुस्ताङका तीन गाउँपालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ वटा पशुधन क्षति भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालय, जोमसोमका अनुसार बारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा किसानका पशुधनमा लगातार क्षति हुँदै आएको हो ।
तीन पालिकामा हिउँ चितुवा, चितुवा र ब्वाँसोको आक्रमणबाट ६८ घरधुरीका २३९ पशुधन मरेका छन् । एक्यापका प्रमुख राजेश गुप्ताका अनुसार यस अवधिमा १२ याक, ७ चौँरी, ११७ च्याङ्ग्रा, ३८ भेँडा–बाख्रा, २ खच्चड र ८ घोडासहित अन्य पशुधन क्षति भएको हो ।
आर्थिक वर्ष २०७९/८० मा ३१ वटा, २०८०/८१ मा ५६ वटा, २०८१/८२ मा ८६ वटा र चालु आर्थिक वर्षको वैशाखसम्म ६६ वटा पशुधनमा क्षति भएको तथ्याङ्क छ ।
वन्यजन्तु क्षति राहत निर्देशिका २०८० अनुसार एक्यापले पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ । सोअनुसार याक, चौँरी, घोडा र खच्चडका लागि अधिकतम ६० हजार रुपैयाँ तथा भेँडा–च्याङ्ग्राका लागि अधिकतम १० हजार रुपैयाँसम्म राहत दिने व्यवस्था छ ।
चार आर्थिक वर्षमा तीन पालिकाका किसानलाई कुल २५ लाख २१ हजार रुपैयाँ राहत वितरण गरिएको एक्यापले जनाएको छ । चालु आर्थिक वर्षको वैशाखसम्म मात्र ५ लाख २९ हजार रुपैयाँ किसानको बैंक खातामा पठाइएको छ ।
यस्तै, उपल्लो मुस्ताङ क्षेत्रका किसानलाई पनि पछिल्लो तीन वर्षमा ४५ लाख ९९ हजार रुपैयाँ राहत उपलब्ध गराइएको एक्याप लोमान्थाङ कार्यालयले जनाएको छ ।
एक्यापका अनुसार जलवायु परिवर्तनका कारण उच्चलेक क्षेत्रमा चरनभूमि घट्दै जानु, घाँस उत्पादन कम हुनु र पानीका स्रोत सुक्दै जानुका कारण वन्यजन्तु बस्ती नजिक झर्ने क्रम बढेको छ ।
गोठ तथा खोरहरू पर्याप्त सुरक्षित र दिगो संरचनामा नबनाइएकाले पनि पशुधन क्षतिको जोखिम थपिएको एक्यापले जनाएको छ ।
