‘रास्वपा सरकार बनायौँ, हामीले के पायौँ?’(भिडियाे)
काठमाडौं । राप्रपाकी सांसद सरस्वती लामाले बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधिसभाको बैठकमा पार्टीका तर्फबाट बोल्दै उनले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले जनताको जीवन कष्टकर बनेको बताइन्। बजारमा चामल, दाल, तरकारीलगायत खाद्य सामग्रीको मूल्य आकासिएको तथा सार्वजनिक यातायात, खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको भाउ बढ्दा जनजीवन प्रभावित भएको उनको भनाइ थियो।
लामाले सरकारले जनतालाई सुशासनको अनुभूति गराउन नसकेको आरोप लगाइन्। उनले महँगी नियन्त्रण, मूल्यवृद्धि रोकथाम र जनतालाई राहत दिन सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको टिप्पणी गरिन्।
‘जनताको आम्दानी उस्तै छ, तर खर्च निरन्तर बढिरहेको छ,’ उनले भनिन्, ‘सामान्य नागरिकको दैनिक जीवन धान्नै कठिन भइरहेको अवस्थामा सरकारको उपस्थिति अनुभूत हुन सकेको छैन।’
उनले खाद्यान्न, शिक्षा, स्वास्थ्य, बसोबासलगायत आधारभूत आवश्यकतासमेत सर्वसाधारणको पहुँच बाहिर जान थालेको बताइन्। मजदुर, किसान, कर्मचारी, विद्यार्थी तथा निम्न र मध्यम वर्ग सबैभन्दा बढी मारमा परेको उनको भनाइ थियो।
सांसद लामाले बजार अनुगमन कडा बनाउन, कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्नेहरूमाथि कारबाही गर्न, पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा लगाइएको कर पुनरावलोकन गर्न तथा कृषि उत्पादन र आपूर्ति प्रणालीलाई सुदृढ बनाउन सरकारसँग माग गरिन्।
