`

बेइजिङमा पुटिनको सीसँग रणनीतिक साझेदारीबारे उच्चस्तरीय वार्ता हुँदै

Nepal One HD ६ जेठ २०८३ १६:४५
बिशेष

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा भएको यस भ्रमणका क्रममा बुधबार दुई नेताबीच उच्चस्तरीय भेटवार्ता हुने तय भएको छ।

सन् २०२६ मा पुटिन र सीबीच हुने यो पहिलो प्रत्यक्ष भेटवार्ता हो। रूस–चीनबीचको ‘सद्भावना र मैत्रीपूर्ण सहकार्य सन्धि’ को २५औँ वार्षिकोत्सव तथा २१औँ शताब्दीका लागि रणनीतिक साझेदारी स्थापना भएको ३० वर्ष पुगेको अवसरमा यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ।

भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, ऊर्जा, व्यापार तथा समसामयिक अन्तर्राष्ट्रिय मुद्दाबारे विस्तृत छलफल हुने जनाइएको छ। रूसी समाचार संस्था तासका अनुसार भ्रमणका क्रममा दुई देशबीच करिब ४० वटा अन्तरसरकारी, अन्तरविभागीय तथा व्यावसायिक सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ। तीमध्ये २१ वटा सम्झौतामा दुवै राष्ट्रपतिका उपस्थितिमै हस्ताक्षर गरिने बताइएको छ।

दुवै देशले ‘समग्र साझेदारी र रणनीतिक सहकार्य’ लाई थप सुदृढ गर्ने विषयमा संयुक्त वक्तव्यसमेत जारी गर्ने तयारी गरेका छन्। साथै, पुटिन र सीले सन् २०२६ २०२७ लाई अन्तरसांस्कृतिक शिक्षा वर्षका रूपमा शुभारम्भ गर्ने कार्यक्रम पनि रहेको छ।

भ्रमणका क्रममा पुटिनले बाल्यकालमा आफूलाई भेटेका चिनियाँ इन्जिनियर पेंग पाईसँग पनि भेट गर्नेछन्। पेंगले उक्त भेटले आफूलाई रूसमा उच्च शिक्षा अध्ययन गर्न प्रेरित गरेको बताएका छन्।

यसैबीच, पुटिनले चिनियाँ प्रधानमन्त्री ली क्वाङ सँग छुट्टै भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ। भ्रमणको अवसरमा आयोजित विशेष स्वागत समारोहमा व्यवसाय, सञ्चार, शिक्षा तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *