किन बढ्दैछ युवामा ‘हार्ट अट्याक’ को जोखिम ?
काठमाडौं। नेपालमा पछिल्लो समय वृद्ध मात्र नभई युवा उमेरका व्यक्तिहरूमा पनि हृदयाघात (हार्ट अट्याक) का समस्या बढ्दै गएको चिकित्सकहरूले बताएका छन् । पछिल्लो समय यसका कारण ज्यान गुमाउने घटनासमेत बढिरहेको छ ।
मुटुरोग विशेषज्ञ डा. मिलन श्रेष्ठका अनुसार युवामा ब्लड प्रेसर, सुगर र कोलेस्ट्रोलको समस्या तीव्र रूपमा बढ्दै गएको छ, जसका कारण हृदयाघातको जोखिम पनि उच्च बन्दै गएको हो ।
उनले भने, ‘पछिल्लो समय युवा उमेरमै ब्लड प्रेसर, सुगरजस्ता समस्या अत्यधिक बढिरहेका छन् । अत्यधिक महत्वाकांक्षी जीवनशैलीले पनि स्वास्थ्य समस्या निम्त्याएको छ ।’
डा. श्रेष्ठका अनुसार लामो समय काम गर्ने, राति अबेरसम्म बस्ने, शारीरिक व्यायाम नगर्ने तथा चुरोट-सुर्तीजन्य पदार्थको सेवन गर्ने बानीले युवामा मुटुरोगको जोखिम बढाइरहेको छ । मानसिक तनाव पनि महत्वपूर्ण कारण रहेको उनले बताए ।
उनका अनुसार हृदयाघात तब हुन्छ जब मुटुका रक्तनली साँघुरिएर वा बन्द भएर रक्तप्रवाह रोकिन्छ र मुटुका मांसपेशीहरूमा अक्सिजन नपुगेर तिनीहरू नष्ट हुन थाल्छन् ।
‘रक्तनलीमा बोसो जमेर ब्लकेज बढ्दै जाँदा छातीमा भारीपन, दुखाइ वा असहजता महसुस हुन सक्छ,’ उनले भने ।
उनले खानपानलाई पनि प्रमुख कारणको रूपमा औंल्याएका छन् । धेरै रातो मासु, चिल्लो पदार्थ, मदिरा तथा चुरोटको सेवनले कोलेस्ट्रोल, ब्लड प्रेसर र सुगर बढाउने र त्यसले मुटुमा प्रत्यक्ष असर गर्ने उनको भनाइ छ ।
त्यसैगरी नियमित व्यायाम नगर्ने व्यक्तिहरूमा मुटुरोगको जोखिम अझ बढी हुने उनले बताए ।
डा. श्रेष्ठका अनुसार अहिले हृदयाघातको उपचार सेवा धेरै ठाउँमा उपलब्ध भएकाले समयमै अस्पताल पुग्ने हो भने ज्यान जोगाउन सकिने सम्भावना बढेको छ । तर सामान्य छाती दुखाइलाई नै हृदयाघात ठानेर अनावश्यक रूपमा डराउने प्रवृत्ति पनि देखिएको उनले बताए ।
