`

अभिनेत्री थापा मेदान्त आयुर्वेद अस्पतालको ब्रान्ड एम्बास्डर नियुक्त

Nepal One HD १६ जेठ २०८३ १३:०६
जीवनशैली/स्वास्थ्य

काठमाडौं। नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापा मेदान्त आयुर्वेद अस्पतालको ब्रान्ड एम्बास्डर नियुक्त भएकी छन्।

अस्पताल र अभिनेत्री थापाबीच आगामी एक वर्षका लागि व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको हो।

शुक्रबार आयोजित कार्यक्रममा अभिनेत्री थापा र मेदान्त आयुर्वेद अस्पतालका सञ्चालक डा. सुवर्ण पौडेल ले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

सम्झौताअनुसार आगामी एक वर्षसम्म थापाले अस्पतालका विभिन्न प्रचार-प्रसार कार्यक्रम, जनचेतनामूलक अभियान तथा स्वास्थ्य प्रवर्द्धन गतिविधिमा सक्रिय सहभागिता जनाउनेछिन्।

सम्झौतापछि प्रतिक्रिया दिँदै अभिनेत्री थापाले मेदान्त आयुर्वेद अस्पतालले नागरिकलाई प्रदान गर्दै आएको सेवा र उपचार प्रणालीप्रति आफू प्रभावित भएको बताइन्।

आयुर्वेद तथा प्राकृतिक उपचार पद्धतिलाई आम नागरिकसम्म सहज रूपमा पुर्‍याउने अस्पतालको प्रयासमा साथ दिन पाउनु आफ्नो लागि गौरवको विषय भएको उनको भनाइ थियो। उनले आयुर्वेद स्वास्थ्य सेवाको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन्।

अस्पतालका सञ्चालक डा. सुवर्ण पौडेलले संस्थाले लामो समयदेखि सर्वसाधारणलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जानकारी दिए।

उनका अनुसार अस्पतालले हाल एक सय रुपैयाँमै बाह्य रोगी सेवा उपलब्ध गराइरहेको छ। जसबाट आर्थिक रूपमा कमजोर तथा विपन्न वर्गका नागरिकलाई उपचारमा सहजता पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *