राप्रपामा पूर्वअध्यक्षहरूलाई लेटरहेड पाउनै ५ घण्टा !
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन पूर्वअध्यक्षहरुले शनिबार संयुक्त वक्तव्य प्रकाशित गर्दै पार्टी छाड्ने वा पलायन हुनेबारे नसोच्न आह्वान गरे पनि एक रोचक तथ्य बाहिर आएको छ ।
आफूहरु ‘अधिकार सम्पन्न’ रहेको भावमा पूर्वअध्यक्षहरु पशुपतिशम्सेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले महाधिवेशनको मिति तय गर्ने सम्मका निश्चिन्तताको सन्देश वक्तव्यमार्फत दिए ।
तर यसमा रोचक कुरा के छ भने, संयुक्त वक्तव्य प्रकाशित गर्ने क्रममा पूर्वअध्यक्षहरुलाई पार्टीको लेटरहेट प्राप्त गर्न नै करिव पाँच घण्टा समय लागेको थियो ।
एक पूर्वअध्यक्षनिकट स्रोतका अनुसार वक्तव्यको मस्यौदा शनिबार मध्याह्न करिव १२ बजेतिरै तयार भइसकेको थियो ।
वक्तव्यको मस्यौदा लेख्ने एक पूर्वअध्यक्षले अन्य दुई पूर्वअध्यक्षहरुलाई विद्युतीय माध्यमबाट मस्यौदा सोही समयमा शेयर पनि गरे । तर, पार्टी मुख्यालयबाट लेटरहेड लिएर वक्तव्य सार्वजनिक गर्दा साँझको ५ बजिसकेको थियो ।
यसबाटै पूर्वअध्यक्षहरुको संयुक्त वक्तव्यको प्रभाव, दवाब र राप्रपाभित्रको शक्ति सन्तुलन बुझ्न सकिन्छ ।
लेटरहेड हात पार्नै पाँच घण्टा लागेपछि सार्वजनिक आह्वानमा उल्लेख विषयहरु के कति कार्यान्वयन हुन सक्लान् भन्ने मापन गर्न सकिन्छ ।
राप्रपाको विधानमा पूर्वअध्यक्षहरु केन्द्रीय कार्यसमितिमा पदेन सदस्य छन् । कार्यकारी जिम्मेवारी नभए पनि नैतिक रुपमा पूर्वअध्यक्षहरुको राप्रपामा गरिमा रहँदै आएको छ, यद्यपि यस कार्यकालमा भने पूर्वअध्यक्षहरुको राय त्यति सम्मान भएको पाइँदैन ।
स्मरणीय छ, राणा, लोहनी र थापा तीनै जना पूर्वअध्यक्षहरु जेठ १५ गते चावहिल केन्द्रीय कार्यालयमा आयोजित पार्टी स्थापना दिवसको कार्यक्रममा गएनन् ।
पूर्वअध्यक्षहरुले पार्टीमा जथाभावी कारबाही नगर्न र महाधिवेशनको मिति तोक्न अध्यक्ष राजेन्द्र लिङ्देनलाई कार्यसम्पादन समितिका बैठकमा भन्दै आए पनि त्यस्ता सुझावहरुको सुनुवाइ भएको देखिँदैन ।
पूर्वअध्यक्षहरुको यस्तो रायमा लिङ्देनले महाधिवेशनको अघिल्लो दिनसम्म कारबाही गर्छु भन्दै जवाफ फर्काएको संस्थापननिकट स्रोतको दाबी छ ।
यो पनि हेर्नुहोस् :
