नेकपाले भन्यो, ‘प्रधानमन्त्रीको भनाइले राष्ट्रियता, स्वाधीनता र अखण्डतामाथि गम्भीर चोट पुर्यायो’
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेको छ। पार्टीका प्रवक्ता प्रकाश ज्वालाले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भनाइ तत्काल सच्याउन आग्रह गरेका हुन्।
पार्टीले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय हित र नेपालको सीमा सम्बन्धी स्थापित अडानमाथि प्रश्न उठाएको भन्दै उक्त भनाइ संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘उक्त भनाइ संसद्को रेकर्डबाट हटाउन तथा राष्ट्रिय हितका सवालमा राष्ट्रिय सहमति कायम गरी तथ्यका आधारमा भारतसँग कूटनीतिक संवाद अघि बढाउन हाम्रो पार्टी जोडदार माग गर्दछ।’
नेकपाले भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका नेपाली भूभागमा गर्दै आएको अतिक्रमणसम्बन्धी ऐतिहासिक तथ्यलाई तोडमोड गर्दै नेपालले पनि भारतको भूमि कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघातपूर्ण अभिव्यक्ति भएको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘सुगौली सन्धि तथा प्राचीन सीमा स्तम्भहरूको आधारमा निर्धारण भएको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमारेखाका कारण सीमावर्ती नागरिकको खेतीयोग्य जमिन वा सम्पत्ति दुवैतर्फ पर्नुलाई कब्जा भनिँदैन। यसलाई जग्गाको भोगचलनको अवस्था भनिन्छ। देशको कार्यकारी प्रमुखले संसद्को रोस्ट्रमबाटै राष्ट्रिय स्वाधीनतामाथि प्रहार गर्दै नेपालले भारतको जमिन कब्जा गरेको भनी दिएको अभिव्यक्ति संविधानको मर्मविपरीत छ।’
पार्टीले नेपाल र भारतबीच सीमा विवाद रहेको स्वीकार गर्दै त्यसको समाधान कूटनीतिक माध्यमबाट खोजिनुपर्ने धारणा पनि व्यक्त गरेको छ।
‘हालसम्म नेपालले भारतको कुनै पनि भूभाग कब्जा गरेको छैन भन्ने तथ्यमा टेकेर मात्रै हाम्रो दाबी कायम रहन्छ। यही आधारमा लिम्पियाधुरा क्षेत्रमा नेपालले आफ्नो दाबी कायम राख्दै चुच्चे नक्सा जारी गरेको हो,’ विज्ञप्तिमा उल्लेख छ।
नेकपाले सीमा समस्या समाधानका लागि गठित प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन भारतले अहिलेसम्म सार्वजनिक नगरेको उल्लेख गर्दै यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रियता, स्वाधीनता र अखण्डतामाथि गम्भीर चोट पुर्याएको दाबी गरेको छ।
‘यस्तो संवेदनशील परिस्थितिमा प्रधानमन्त्रीबाट व्यक्त धारणाले राष्ट्रियता, स्वाधीनता र अखण्डतामाथि गम्भीर चोट पुर्याएको छ,’ विज्ञप्तिमा भनिएको छ।
