`

पार्टी छोड्दै निनाचन्द्रले भने – ‘धरानको मेयर उठाउँछु भनेर हर्क साम्पाङले ढाँटे’

Nepal One HD २० जेठ २०८३ ११:१९
राजनीति

काठमाडौं। हर्क साम्पाङका निकट सहयोगी निनाचन्द्र राईले श्रम संस्कृति पार्टी परित्याग गरेका छन्।

धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत राईले आजदेखि पार्टी र हर्क साम्पाङसँग आफ्नो कुनै सम्बन्ध नरहेको घोषणा गरेका हुन्।

उनले आफूसँगै १०० भन्दा बढी व्यक्तिले पनि पार्टी छाडेको दाबी गरेका छन्।

धरान उपमहानगरपालिकाको मेयर निर्वाचनमा हर्क साम्पाङलाई जिताउन सक्रिय भूमिका खेलेका राईले आफूलाई भावी मेयर उम्मेदवार बनाउने आश्वासन दिइए पनि पछि धोका दिइएको आरोप लगाए।

उनका अनुसार पार्टी प्रवेश गराउँदा हर्क साम्पाङले आफूलाई धरानको आगामी मेयर उम्मेदवार बनाउने प्रतिबद्धता जनाएका थिए। तर पछि धनबहादुर राईलाई अघि सारेपछि आफू असन्तुष्ट बनेको उनले बताए।

‘उहाँले मलाई नै मेयरको उम्मेदवार तपाईं नै हो भन्नुभएको थियो। अहिले आएर अर्कै व्यक्तिलाई अघि सार्नुभयो,’ राईले पत्रकार सम्मेलनमा भने।

हर्क साम्पाङ स्वतन्त्र उम्मेदवारका रूपमा धरानको मेयर निर्वाचित हुँदा निनाचन्द्र राई अभियानमा सक्रिय थिए। पार्टी गठनपछि केही समय स्वतन्त्र रहे पनि गत वैशाखमा उनी श्रम संस्कृति पार्टीमा आबद्ध भएका थिए।

राईले पार्टीमा प्रवेश गराउँदा मेयर बनाउने आश्वासन दिइएको दाबी गर्दै अहिले नेतृत्वले आफ्ना प्रतिबद्धता पूरा नगरेको आरोप लगाएका छन्।

यता, श्रम संस्कृति पार्टीले भने यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *