‘इलिफेन्ट इन द फग’ टोलीलाई ब्लु डाइमण्ड सोसाइटीद्वारा सम्मान
काठमाडौं। फ्रान्समा आयोजित कान्स चलचित्र महोत्सव अन्तर्गत ‘अनसर्टेन रिगार्ड’ विधामा ‘जुरी पुरस्कार’ जित्न सफल नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरू)’ का टोली सदस्यहरूलाई बुधबार नील हिरा समाज (ब्लु डाइमण्ड सोसाइटी) ले सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा चलचित्रकी मुख्य अभिनेत्री पुष्पा थिङ लामाले कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न निरन्तर मेहनत, लगनशीलता र संघर्ष आवश्यक पर्ने बताइन् ।
उनले एलजीबीटीक्यूए समुदायको अधिकार तथा मानवअधिकारका क्षेत्रमा काम गरेपछि कला क्षेत्रमा प्रवेश गर्दा धेरै चुनौतीहरूको सामना गर्नुपरेको अनुभव सुनाइन् ।
उनले भनिन्, ‘जुन सुकै क्षेत्र होस्, सजिलो हुँदैन, काम गर्न गाह्रो हुन्छ, तर दुख, मेहनत र लगनशील भएर काम गरियो भने सबै कुरा प्राप्त गर्न सकिँदो रहेछ भन्ने मलाई लागेको छ । एलजीबीटीआइक्यूए राइट्स एक्टिभिस्ट अथवा ह्युमन राइट्स एक्टिभिस्टको रुपमा काम गर्दा र त्यसपछि कला क्षेत्रमा प्रवेश गर्दा त्यो सजिलो पक्कै थिएन । विभिन्न चुनौतीहरू थिए । सुरुमा मलाई अनुभव र ज्ञान पनि थिएन, सिक्न समय लाग्यो तर मैले सिकेँ र मेहनत पनि गरेँ । अहिले गर्व लाग्छ ।’
अभिनेत्री लामाले ‘इलिफेन्ट इन द फग’ले कान्स फिल्म फेस्टिभलमा प्राप्त गरेको अन्तर्राष्ट्रिय सफलताले नेपाली तथा एलजीबीटीक्यूए समुदायका कथाहरूलाई विश्वमञ्चमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताइन् ।
उनका अनुसार चलचित्रको विषयवस्तु विश्वले स्वीकार गरिसकेको छ र अब नेपाली दर्शकले पनि यसलाई आत्मसात् गर्ने विश्वास छ ।
उनले चलचित्र ‘तिनीहरू’ मानव संवेदनामा आधारित आमा-छोरीको संघर्षपूर्ण जीवनकथा भएको उल्लेख गर्दै समाजमा छायाँमा पारिएका समुदायका कथालाई उजागर गरिएको बताइन् ।
उनले दर्शकलाई चलचित्र हेरेर यसको सन्देश बुझ्न आग्रह पनि गरिन् ।
