लिङ्देनले पूर्वराजालाई नारायणहिटीमा कसरी लैजान्छन् ? (टिप्पणी)
काठमाडौं । ‘काम गर्नै दिएन’ भन्थे- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र उनका समर्थकहरू । अब डा. धवलशम्सेर राणाहरूले पार्टी परित्याग गरिसकेपछि राप्रपालाई उचाइमा पुर्याउन लिङ्देनकै भनाइमा कुनै बाधा/अवरोध छैन ।
तर, राप्रपाको म्याद सकिएको विषय कसरी टुंगोमा पुर्याउँछन् ? निर्वाचन आयोगको कसरी चित्त बुझाउँछन् लिङ्देनले ? प्रतीक्षाको मुद्दा बनेको छ ।
म्याद गुज्रेर राजनीतिक दलको वैधानिकता अन्त्य भएको विषय निर्वाचन आयोगका लागि पनि नजिर बन्ने छ, अहिलेको सन्दर्भमा । अर्ली महाधिवेशन गर्ने भनेर सुरू भएको महाधिवेशनको तालिका पाँचपटक जिल्ला अधिवेशनको मिति थप्दा पनि सम्पन्न भएन ।
विविध कारणले नसकिएको महाधिवेशन कसरी सम्पन्न गर्छन् लिङ्देनले ? यो पनि प्रतीक्षाको विषय बनेको छ ।
भनिन्छ, लिङ्देनले अन्तिमसम्म महाधिवेशनकै विषयमा डा. राणालाई ‘फसाउन’ खोजेका थिए । तर उल्टै राणाले राप्रपाको वैधानिकता समाप्त गरेको भन्ने कडा जवाफ दिएर लिङ्देनलाई फसाए । अब काम गर्न सबै बाटो खुला भएको बेला महाधिवेशन कसरी निष्कर्षमा पुर्याउँछन् लिङ्देनले हेर्न बाँकी छ ।
त्यो भन्दा पनि जेठको अन्ततिर तय भएको केन्द्रीय कार्य समितिको बैठक लिङ्देनले गर्छन् कि गर्दैनन् ? गरे भने पार्टी फुटको धब्बाबाट कसरी मुक्त हुन्छन् ? र, केन्द्रीय सदस्यहरूको कसरी चित्त बुझाउँछन् ? यो पनि उत्तिकै पेचिलो प्रश्न छ ।
एकता महाधिवेशनको म्याण्डेट शिरोधार्य गर्न नसकेको, राप्रपालाई एक ढिक्का राख्न नसकेको दाग त्यसै लागेकै छ लिङ्देनलाई । केन्द्रीय समिति बैठकमा गएर पार्टी परित्याग पनि काम गर्न नदिने अवरोध नै हो भन्न मिलेन होला ।
पार्टी विभाजन रोक्न नसकेको दाग कसरी फेस गर्छन् लिङ्देनले ? यो पनि पार्टी जीवनमा गम्भीर असफलता हो । किनकि जिम्मेवारी पन्छाउन, यसअघि जस्तो धवलशमशेरहरू अब राप्रपामा छैनन् । ‘काम गर्न नदिने’ मानिसहरूले राप्रपा छाडिसकेपछि लिङ्देनले अब कस्तो जोश र जाँगरमा काम गर्छन् र पूर्वराजालाई नारायणहिटीमा कसरी लैजान्छन् ? चासाेपूर्वक हेरिएकाे छ ।
सबैभन्दा महत्वपूर्ण विषय महाधिवेशनको मिति लिङ्देनले तोक्छन् कि तोक्दैनन् ? र हेमजंग गुरुङले महाधिवेशनको कार्य तालिका बनाउँछन् कि बनाउँदैनन् ? राप्रपावृत्तमा उत्सुकता बढेकाे छ ।
