‘पेड्डी’ फिल्म विवाद: जाह्नवी कपुरको च्याट भाइरल
एजेन्सी। दक्षिण भारतीय फिल्म ‘पेड्डी’ प्रदर्शनपछि सुरु भएको विवादले नयाँ मोड लिएको छ।
फिल्ममा अभिनेत्री जाह्नवी कपुरको चरित्रलाई प्रस्तुत गरिएको शैलीलाई लिएर सामाजिक सञ्जालमा आलोचना भइरहेका बेला उनको भनिएको एउटा कथित निजी च्याट सार्वजनिक भएको छ, जसले विवादलाई थप चर्काएको छ।
सामाजिक सञ्जालका विभिन्न फ्यान पेजहरूले सार्वजनिक गरेका स्क्रिनसटहरूमा जाह्नवीले फिल्मको छायांकनका क्रममा केही क्यामेरा एङ्गलप्रति असन्तुष्टि व्यक्त गरेको दाबी गरिएको छ।
ती सन्देशहरूमा उनले आफ्नो भूमिकालाई अभिनयभन्दा बढी शारीरिक बनावटमा केन्द्रित गरेर देखाउन खोजिएको भन्दै आपत्ति जनाएको उल्लेख छ।
भाइरल स्क्रिनसटअनुसार जाह्नवीले एक सन्देशमा लेखेकी छन्, ‘मैले फिल्ममा छाती र कम्मरलाई केन्द्रित गर्ने कुनै पनि सट नराख्न स्पष्ट रूपमा भनेकी थिएँ।’ यद्यपि, यी च्याट वास्तविक हुन् वा होइनन् भन्नेबारे अभिनेत्री वा उनको आधिकारिक टोलीले अहिलेसम्म कुनै पुष्टि गरेको छैन।
सार्वजनिक भएका कथित च्याटहरूमा फिल्मका मुख्य अभिनेता राम चरणले पनि जाह्नवीको पक्ष लिएको उल्लेख गरिएको छ। स्क्रिनसटमा निर्देशकलाई यस्ता दृश्य नखिच्न आग्रह गरिएको र त्यसपछि छायांकन शैली परिवर्तन भएको दाबी गरिएको छ।
तर, यस विषयमा राम चरण वा फिल्म निर्माण टिमका अन्य सदस्यहरूले पनि कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।
फिल्म ‘पेड्डी’मा जाह्नवीले निभाएको ‘अचियम्मा’ पात्रलाई लिएर सुरुदेखि नै मिश्रित प्रतिक्रिया आएको थियो। धेरै दर्शकले उनको चरित्रको कथावस्तुभन्दा पनि पहिरन, ग्ल्यामर र क्यामेरा एङ्गललाई बढी प्राथमिकता दिइएको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले महिला पात्रलाई कथाको आवश्यकताभन्दा बढी आकर्षणको वस्तु बनाउने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्। यही बहसबीच कथित च्याट सार्वजनिक भएपछि विवाद झन् बढेको हो।
विवाद चर्किएपछि फिल्मका निर्देशक बुच्ची बाबु सनाले आफ्नो आधिकारिक एक्स (पूर्व ट्विटर) मार्फत वक्तव्य जारी गर्दै माफी मागेका छन्।
उनले सिनेमाको उद्देश्य मनोरञ्जनसँगै दर्शकसँग भावनात्मक सम्बन्ध स्थापित गर्नु भएको उल्लेख गर्दै कसैलाई अपमानित गर्ने वा असहज बनाउने नियत नरहेको बताएका छन्।
निर्देशकले आफ्नो वक्तव्यमा भनेका छन् कि फिल्मका केही दृश्यले दर्शकमा नकारात्मक अनुभूति गराएको भए त्यसलाई गम्भीर रूपमा लिइएको छ र उनीहरूको भावनाको सम्मान गर्दै आवश्यक सुधार गरिनेछ।
दर्शकको आलोचनापछि निर्माण पक्षले आपत्तिजनक ठानिएका केही दृश्यहरू पुनः सम्पादन गर्ने निर्णय गरेको जनाएको छ। निर्देशक सनाले समयसँगै दर्शकको संवेदनशीलता र सामाजिक चेतनालाई ध्यानमा राख्नु फिल्मकर्मीको जिम्मेवारी भएको स्वीकार गरेका छन्।
उनले महिलाहरूको सम्मान र गरिमाप्रति आफू सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सशक्त महिला पात्र भएका कथालाई प्राथमिकता दिने बताएका छन्।
यद्यपि, सामाजिक सञ्जालमा भाइरल भइरहेको कथित च्याटबारे जाह्नवी कपुर, उनका प्रतिनिधि वा फिल्म निर्माण टिमले कुनै औपचारिक पुष्टि गरेका छैनन्। त्यसैले सार्वजनिक भएका स्क्रिनसटहरूको सत्यताबारे स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी रहेको देखिन्छ।
भाइरल च्याट :

