नेपाली सेनालाई सीमा सुरक्षामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई साम्पाङले सीमा सुरक्षालाई प्रभावकारी बनाउन नेपाली सेनालाई सीमाक्षेत्रमा तैनाथ गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाली सेनाको प्राथमिक जिम्मेवारी देशको सीमा सुरक्षा रहेको उल्लेख गरे। सेनालाई सीमामा परिचालन गर्नुपर्ने ठाउँमा अन्यत्र प्रयोग भइरहेको उनको भनाइ थियो।
साम्पाङले राष्ट्रको अस्तित्वका लागि भूगोल अपरिहार्य रहेको बताउँदै सीमा र राष्ट्रिय अखण्डताप्रति सबै गम्भीर हुनुपर्ने धारणा राखे। प्रधानमन्त्रीको हालैको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उनले त्यसले जनमानसमा दुःख र आक्रोश पैदा गरेको बताए।
‘देश रहनका लागि भूगोल चाहिन्छ। भूगोलबिनाको देशको कल्पना गर्न सकिँदैन,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले व्यक्त गर्नुभएको भनाइप्रति हामी दुःखी र आक्रोशित छौं। उहाँले आफ्नो अभिव्यक्ति सच्याउनुपर्छ।’
प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिको स्पष्टिकरण पनि स्वयम् प्रधानमन्त्रीले नै दिनुपर्ने उनको भनाइ थियो। ‘उहाँको मुखबाट निस्किएको शब्द उहाँकै मुखबाट सच्याइनुपर्छ,’ साम्पाङले जोड दिए।
