`

आज राजेश हमालको जन्मदिन, कति वर्ष भए राजेश ?

Nepal One HD २६ जेठ २०८३ १३:०६
चलचित्र

काठमाडौं। नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता राजेश हमाल ६२ वर्षमा प्रवेश गरेका छन्। उनी हाल पत्नी मधुसहित अस्ट्रेलिया भ्रमणमा रहेका छन् र पर्थमा जन्मदिन मनाइरहेका छन्।

प्रशंसकहरूबीच उनको उमेरबारे अक्सर जिज्ञासा रहने गर्छ। हमाल भने यसबारे ठट्यौली शैलीमा प्रतिक्रिया दिँदै भन्छन्, ‘मेरो उमेर २५ भन्दा माथि छैन।’

तर वास्तविकतामा आजदेखि उनी ६२ वर्षमा प्रवेश गरेका हुन्। नेपाली चलचित्र विकासमा उनले पुर्‍याएको योगदान, निरन्तरता र इमान्दारितालाई उनका प्रशंसकहरूले उच्च सम्मानका रूपमा लिने गर्छन्।

करिब चार दशक लामो चलचित्र यात्रामा हमालले विभिन्न प्रकारका चरित्र निर्वाह गरेका छन्। ‘भीष्म प्रतिज्ञा’ मा तराई क्षेत्रको पात्रदेखि ‘भरिया’ मा गरिब नेपाली युवाको जीवन संघर्ष, साथै सैनिक अधिकृत, गाउँले र शहरी पात्रसम्म उनले अभिनय गरेका छन्।

आफ्नो अभिनयबारे उठ्ने आलोचनाप्रति प्रतिक्रिया दिँदै हमाल भन्छन्, ‘म फिल्मबाहेक अन्य विधामा लागेको भए यति धेरै भूमिकामा देखिन सक्दिनथेँ होला। मैले जीवनमा नै नसोचेको र नदेखेको अनि नभोगेको चरित्र निर्वाह गर्ने अवसर पाएको छु।’

उनले थप भनेका छन्, ‘मलाई लाग्छ, कलाकारिताको यो यात्रामा मैले जति चरित्र निर्वाह गरेको छु, सायदै अरू कलाकार हुनुहुन्छ होला।’

करिब २३० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका हमाल नेपाली दर्शकमाझ ‘महानायक’ उपनामले परिचित छन्। यद्यपि उनले आफूलाई कहिल्यै महानायक नठानेको र केवल कलाकारका रूपमा चिनिन चाहेको बताउँदै आएका छन्।

यसैबीच, अस्ट्रेलियामा रहेका हमाललाई जन्मदिनको अवसरमा प्रशंसकहरूले शुभकामना व्यक्त गरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *